सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा गएराति खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।
मेलम्ची बजारमा गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् ।
पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका भारतीय नागरिक बारू साहको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए ।
त्यसैगरी अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उहाँकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए ।
गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् । गएरातिको पहिराले गाउँपालिकाका १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताए ।