बिहिबार, बैशाख १३, २०८१

भारतको पन्जाबमा विषाक्त मदिरा सेवनबाट ८० भन्दा बढीको मृत्यु

भारत । भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त रक्सी पिउने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अवैध रक्सी बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ । भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त रक्सी पिएर सयौँ व्यक्तिको ज्यान जाने गरेको छ । प्रहरीकाअनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको मृत्यु भएको छ ।
यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त रक्सी खाएर मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको सङ्ख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ । पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताएका छन् । उनले अवैध तथा विषाक्त मदिरा बिक्रीमा दोषी व्यक्ति भेटिए कडा कारबाही गरिने बताए ।
स्थापित ब्रान्डका मदिरा महँगो हुने भएकाले ग्रामीण भेगमा अवैध मदिराको बेचबिखन हुने गरेको छ। तर विषाक्त मदिरा सेवन गर्दा धेरै मानिसले ज्यान गुमाएका छन् ।
प्रायः उत्पादकहरूले मदिरालाई कडा बनाउन मेथनल प्रयोग गर्छन् । मेथनल सेवन गर्दा आँखाको ज्योति गुम्ने, कलेजो बिग्रिने र मृत्यु हुने पनि हुनसक्छ ।