शुक्रबार, बैशाख ०७, २०८१

थप २४६ जनामा कोरोना पुष्टि,जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौंका थप २२ जना, ललितपुरका ८ र भक्तपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । जसमा १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् । आइतबार मात्रै १ सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ८ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा १० हजार ९ सय ३४ जना रहेका छन् । आइसोलेसनमा ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५७ पुगेको छ । मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै, कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको प्रवक्ता डा. गौतमले बताए । उनले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह गरे । आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न आग्रह प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह समेत गरे ।