बिहिबार, बैशाख ०६, २०८१

दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि महाशाखामा सेवा बन्द

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकालाई आउजाउ गर्न बन्देज लगाइएको छ ।

उनीहरुलाई कोरोनापुष्टि भएपछि अहिले महाशाखाका एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका छन् । ढकालले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकालाई आउजाउ गर्न बन्देज लगाइएको र आफू लगायत अरु सबैले भेटघाट बन्द गरेको बताए । यो संगै बग्गीखानामा रहेको महाशाखामा पूर्ण रुपमा लकडाउन भएको छ ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । संक्रमण पुष्टि भएकाहरु ट्राफिक प्रहरी अहिले अस्पतालमा छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि यसअघिनै कोरोना पुष्टि भएको छ ।