शुक्रबार, चैत १६, २०८०

उपत्यकाका ३२ सहित थप २२४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। काठमाडौंका ३२ जना, भक्तपुरका एक र ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,७६८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १२,१११ जना रहेका छन् ।

आइसोलेसनमा ५,३१६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । शुक्रबार १५१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४,३९९ पुगेको छ ।

यस्तै, कोरोना संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।