शुक्रबार, चैत १६, २०८०

ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा …

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए ।

अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनलाई अपहरणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । वर्ष दिनअघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

स्वास्थ्य सामग्री सहयोग

चीनको न्यालम कन्ट्री सरकारले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई कोरोना भाइरस नियन्त्रण र रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । केही दिनअघि दुई देशबीच सम्पन्न सीमा सुरक्षा बैठकमा नेपालमा अझै कोरोना भाइरस नियन्त्रणमा नआएकाले स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिएको थियो ।

यसअघि झण्डै रु एक करोड बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान प्राप्त गरेको थियो । सीमावर्ती भोटेकोशी गाउँपालिकालाई समेत न्यालम सरकारको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरेको थियो । बाढीपहिरो पीडितका लागि चीन सरकारले खाद्यान्न, टेन्टलगायत अन्य आवश्यक सामग्रीसमेत सिन्धुपाल्चोकलाई दिने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार न्यालम सरकारले आज एन–९५ मास्क एक हजार थान र डिस्पोजएबल मेडिकल मास्क १०० थानलगायतका नौ प्रकारका स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ ।