शुक्रबार, चैत १६, २०८०

आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउदै लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको छ ।

बिहीबार कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले लकडाउन खुल्ला भएपछि सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै यसबाट बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पीसीआर परीक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको हो ।

बैठकले भाद्र १ गतेदेखि सुरु हुने सेवा सञ्चालनकोे मापदण्ड सम्बन्धित मन्त्रालयले तयार गर्ने र प्रवेश बिन्दुमा नै क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । केही दिनको परीक्षणको नजिताका आधारमा परिस्थितिको विश्लेषण गरि भावी रणनीति तयार गर्ने निर्णय बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

उनले काठमाडौं भित्रिने नाकामा पीसीआर परीक्षण गर्दा संक्रमित भेटिएकाले यातायात तथा उपत्यकाभित्रको हालको व्यवस्था परिमार्जन गर्नुपर्ने देखिएको बताए ।