शुक्रबार, बैशाख ०७, २०८१

नेकपाका १५२ सदस्यले केन्द्रीय समिति बैठकको माग गर्दै बुझाए हस्ताक्षर

काठमाडौं । सत्तारुढ नेकपाका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

स्थायी कमिटीले पार्टीभित्र देखापरेको विवादको निकास दिन नसकेको भन्दै कार्यालय सचिव श्रीराम ढकाललाई हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । महासचिव नआएपछि उनीहरुले कार्यालय सचिवको जिम्मा लगाएर हिँडेको हस्ताक्षरकर्ताले बताएका छन् ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको उनीहरुले बताएका छन् । स्थायी कमिटीले विवाद सल्टाउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् ।

नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्नेछ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन ११० सदस्यको हस्ताक्षर आवश्यक पर्छ । नेकपाको केन्द्रीय कमिटीको बैठक गत माघ १५ देखि १९ गतेसम्म बसेको थियो । विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटीको बैठक ६ ६ महिनामा बस्नुपर्नेछ । अध्यादेश प्रकरणपछि वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए ।