शुक्रबार, चैत १६, २०८०

राखेपका सदस्यसचिव र उपाध्यक्षद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले बुधबार सपथ लिएका छन् ।

बुधबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला र सिलवाललाई सपथ खुवाएका हुन् ।

त्यसअघि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवाललाई नियुक्त पत्र हस्तान्तरण गरेका थिए । कोइराला र सिलवाललाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो । सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गते सँगै सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए ।

कोइराला पहिलो पटक राखेपमा प्रवेश गरेका हुन् । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्यकाल ४ वर्ष रहेको छ । सपथ कार्यक्रममा मन्त्री विश्वकर्माले मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको भन्दै खेल क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले राखेपलाई पारदर्शी रुपमा अघि बढाउनुपर्ने धारणा राखे । त्यस्तै सदस्य सिलवालले खेल जगतलाई प्राथमिकताको क्षेत्रको राख्नका लागि आफ्नो पहल र भूमिका हुने बताए ।

सुशासन र पारदर्शी रुपमा आफ्नो गतिविधीलाई अघि बढाउने उनको भनाई छ । यसपटक राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ति भएको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ति राजनीतिक आधारमा हुने परम्परा थियो ।