शुक्रबार, बैशाख ०७, २०८१

नेपालमा कोरोना संक्रमित संख्या ९०१ पुग्यो,ललितपुरमा १ जनाको मृत्यु

काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ६ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।

बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा। देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरसका कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।