संविधान संशोधन छिटो प्रस्तुत गर्न सांसदहरुको माग

काठमाडौं । छुटेका नेपाली भूमिसमेत समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप अद्यावधिक गर्न दर्ता गरिएको संविधान संशोधनको विषय संसदमा प्रस्तुत गर्न सांसदहरुले माग गरेका छन् । नेपालको नयाँ नक्सा अनुसार निशान छाप अद्यावधिक गर्न दर्ता गरिएको संविधान संशोधन विधेयक चाँडै पारित गर्नुपर्ने उनीहरुको भनाइ छ ।

भारतद्वारा अतिक्रमित भूमि नक्शामा सरकारले समावेश गरेको छ । यसको पूर्ण कार्यान्वयनका लागि छिटो भन्दा छिटो संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गरियोस्’ बुधबार प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल नेकपाकी सांसद रेखा शर्माले भनिन् । भारतसँग कुटनीतिक वार्ता र छलफल गरी अतिक्रमित नेपाली भूमि फिर्ता गराउन सरकार लाग्नुपर्ने उनले बताइन् । प्रमुख विपक्षी नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले अतिक्रमित भूमि फिर्ता लिन सरकारलाई उच्चस्तरीय टोली गठन गरी अगाडि बढ्न आग्रह गरिन् । नेपालले पटक–पटक वार्ताका लागि आग्रह गर्दा समेत भारतले आलटाल गरिरहेको भन्दै असन्तुष्टि पोखिन् । ‘नेपाल सरकारले वार्तामा बस्न पटक पटक पहल गर्दा पनि भारतले किन आलटाल गरिरहेको छ । गोर्खालीका सन्तान हौं । उच्चस्तरीय टोली गठन गरी अगाडि बढ सरकार’ सांसद सुब्बाले भनिन् ।

नेकपाका सांसद मोहन बानियाँले राष्ट्रयताको विरुद्धमा नबोल्न सांसदहरुलाई आग्रह गरे । समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले ग्रेटर नेपाल फर्काउने गरी पहल गर्न सरकारलाई आग्रह गरिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया