Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

काउन्सिलद्धारा भ्रम फैलाएको भन्दै ७० वटा अनलाइनको साइट बन्द

काठमाडौं । नेपाल प्रेस काउन्सिलले ७० वटा अनलाइनलाई नेपालमा प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताए ।

उनकाअनुसार चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा यस्ता अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको हो । ‘हामीले धैरैवटा सञ्चार माध्यमलाई सचेत गराउने, स्पष्टिकरण सोध्ने र कारबाहीसमेत गरेका छौं,’ उनले भने, ‘मुख्य गरी अहिलेको अवस्था बिना तथ्य समाजमा भ्रम फैलाउने सञ्चारमाध्यमलाई कारबाहीको दायरामा ल्याएका हौं । प्रेस काउन्सिलको विज्ञप्तिअनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ । यस्तै, २२ वटालाई सचेत गराइएको छ । ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको भने एउटालाई अन्तिम चेतावनी दिइएको छ । यस्तै, ७० वटा अनलाइनलाई भने नेपालभित्र सम्प्रेशण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएको छ । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका काउन्सिलले जनाएको छ । ‘वेभसाइट ल्बक गरिएका अनलाइनहरू भने सबै बिना दर्ता सञ्चालन भइरहेका थिए,’ उनले भने, ‘तिनीहरूको न सूचना विभागमा दर्ता छ, न प्रेसकाउन्सिलबाट नै अनुमति लिएका छन् । यस्ता अनलाइनहरू जो दर्ता नभइकन नै समाजमा भ्रमपूर्ण समाचार फैलाएका छन, तिनीहरूको नेपालभर प्रशारण बन्द गर्न दुरसञ्चारमा पठाएका हौं ।

बन्दभएका अनलाइनहरूले कोरोनाका कारणबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, कर्मचारीको तलब बढाएको, लकडाउन खुलेकोलगायतका भ्रमपूर्ण समाचारहरू लेखेको प्रेस काउन्सिलले जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया