शनिबार, बैशाख ०८, २०८१

मुलुककै ठूलो ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा

काठमाडौं । लकडाउनकाबीच धनुषामा निर्माणाधीन ४००-२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ ।

कोरोनाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेको हो । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि निर्माण गएिको ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस) प्रविधियुक्त स्वचालित ढल्केबर सबस्टेसन मुलुकभित्रको सबैभन्दा ठूलो र ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सबस्टेसनमा रहने उपकरण जडान एवं परीक्षण र बाँकी रहेको सिभिल संरचनाको निर्माणमा नेपाल, भारत र चीनका प्राविधिक तथा गैह्रप्राविधिक गरी ८० जना जनशक्ति खटिएका छन् ।

यही असारभित्रमा सबस्टेसनको निर्माणसम्पन्न गरी संचालन (चार्ज) गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कलकत्ता विमास्थलमा ल्याइएका उपकरणहरु अलपत्र परेपछि लकडाउनमा पनि आवश्यक सुरक्षात्मक उपाय अपनाएर नेपाल ल्याउन ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षीसँग आग्रह गरेका थिए । त्यसपछि ९ वटा ट्रकमार्फत उपकरणहरु आयोजनास्थलमा ल्याइएको थियो । चीनमा उत्पादित उपकरणहरु भएकाले संचालन परीक्षणका लागि चिनियाँ इन्जिनियरहरु लकडाउन सुरुहुनुभन्दा पहिले नै आइसकेका छन् । उपकरणको संचालनमा एकजना भारतीय इन्जिनियर आउनु पर्ने तर लकडाउनका कारण आउन नसक्ने भएपछि रिमोटमार्फत नै काम गर्नसक्ने व्यवस्था मिलाउनका लागि पहल भइरहेको घिसिङले जानकारी दिए । सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरिरहेका छन् ।

नेपाल सरकार र विद्युत प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा सबस्टेसन निर्माण भइरहेको हो । प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो ।