शुक्रबार, बैशाख ०७, २०८१

कोरोना भाइरस संक्रमणबाट भारतमा ७ को मृत्यु ,३४१ जना संक्रमित

गुजरात  । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९ )को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

आइतबार गुजरातमा एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो । कोरोना संक्रमित वृद्धको अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको जनाएके छ । पहिलेदेखिनै मिर्गौला र दमका रोगबाट ग्रस्त उनीमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।  गुजरातमा मृत्यु हुने उनी पहिलो र भारतमा सातौं बिरामी हुन् । कोरोनाबाट संक्रमित उनी रेलमार्फत दिल्ली, जयपुर हुँदै गुजरातको सूरत आएका थिए । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा पहिलो कोरोना पोजिटिभ केस गुजरातको सूरतबाट नै आएको थियो र पहिलो मृत्यु पनि सुरतमा नै भयो । यस्तै बिहारको राजधानी शहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको छ । कोरोना संक्रमणबाट बिहारमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो ।

भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ भने अहिलेसम्म ३४१ जना कोरोना संक्रमित भेटिएका छन् ।