बुधबार, बैशाख १२, २०८१

कोरोना भाईरस,सरकार र मानवीय संवेदनशिलता

भूषण घिमिरे,जापान । कोरोना भाईरस (कोभिड-१९)ले अनुमान गरिए भन्दा धेरै ठूलो आकार ग्रहण गरेर संसारभर त्रास बढाइदिएको छ ।

विश्वस्त उपचार अर्थात खोपका लागि कम्तिमा एक वर्ष कुर्नु पर्ने देखिन्छ । अव सबैले सक्दो सतर्कता अपनाउनुको कुनै विकल्प छैन । सतर्कताका उपायहरु वा तरिकाहरु संचार माध्यम र सामाजिक संजालहरुमा प्रशस्त आइरहेका छन् ।

प्रविधि र साधन स्रोतले साँघुरो बनाइदिएको संसारमा यस्ता सरुवा रोग कति घातक हुने रहेछन् भन्ने उदाहरण वर्तमान पुस्ताको आँखा अगाडि छ । केही दिन अघि चीनको बुहानमा मात्र संक्रमण देखिदा जहाज चार्टर गरेर आफ्ना नागरिक स्वदेश भित्र्याउने लहर चल्यो । नेपाल त्यसको पछिल्लो पङ्तिमा रह्यो । अहिले केही दिन पछि आफ्ना नागरिकलाई समेत देश प्रवेशमा प्रतिबन्ध लगाउनेमा नेपाल सायद नम्बर एकमै आएको छ । अनुरोध सम्म गर्नु एउटा कुरा हो तर अवस्था जस्तो सुकै भए पनि आफ्नै नागरिकलाई स्वदेश प्रवेशमा पुरै रोक लगाउनु  कुनै कोणबाट पनि जायज हुन सक्दैन । नेपाल बाहेक अरु कुनै मुलुकले त्यस्तो कदम चालेको जानकारी छैन । स्वदेश प्रवेश पछि सेल्फ क्वारेनटाइनमा बस्नु पर्ने सम्मका नियम अरु देशले पनि बनाएका छन् । विदेशीका हकमा पनि त्यही नियम लागु हुन्छ ।

अरु मुलुकका मन्त्री प्रधानमन्त्रीले विशेषज्ञहरुको राय सल्लाह अनुसार निर्णय लिन्छन र त्यसरी नै जानकारी पनि गराउँछन्  तर नेपालमा सचिवले मन्त्री र मन्त्रीले प्रधानमन्त्रीसंग सल्लाह गरेर निर्णय लिएको भन्छन् । जे विषयमा पनि पदमा बस्नेले नै विज्ञको भन्दा बढी बुझेको हुन्छ भन्ने सोचले मुलुक आक्रान्त छ । दुईदिन अघि विदेशी राहदानी बाहक गैरआवासीय नेपालीलाई र दुइदिन पछि नेपाली राहदानी बाहक आफ्नै नागरिकलाई स्वदेश प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि त्यसकै उपज हुनुपर्छ । सतर्कता अपनाउनु जरुरी छ । तर्कसंगत कुरा सबैले मान्नु पर्छ । आपतमा सबैका तर्क सुनेर नभै विज्ञ समुहको राय लिएर निर्णय गर्नु पर्छ । एउटा पनि आधिकारिक विरामीको उपस्थिति नदेखिएको थोरै मुलुकमा नेपाल पनि परेको छ । यो सुखद संयोग मात्र हो । यस्तो अवस्थामा बाहिरबाट हुने प्रवेशलाई रोके पछि देश भित्रका पढाइ र परीक्षा किन रोक्नु परो ? बुझ्न सजिलो छैन । किन भने तर्कले काम गर्दैन । गर्नु पर्ने कुरा अन्य मुलुकमा गरेजस्तो नगर्ने अनि गर्नै नपर्ने कुरा चाहीं एक कदम अघिबढेरै गर्ने गलत शैली जिम्मेवार निकायको छ । विमानस्थल लगायतका सिमा नाकाहरुमा गरिने परीक्षण फितलो र बैज्ञानिक नभएको आलोचना ब्याप्त छ । शंकास्पद बिरामीको परीक्षण समेत नभएको गुनासो त्यत्तिकै छ । केही स्वदेशी र विदेशीको मृत्युको कारण खुल्न नसकेको अवस्था छ । तर सरकारको ध्यान र काम कार्यवाही आफ्नै नागरिकलाई स्वदेश भित्रिन नदिनेमा छ । कुनै देशले डिपोर्ट नै गरिदियो भने के गर्ने हो जवाफ छैन ।

घरका अभिभावक सदस्यले बाहिरबाट घर फर्केको परिवारको सदस्यलाई रोगी र मरणान्तै भए पनि घर प्रवेशमै रोक्नु मानवियता होला ? त्यसो गर्न कसैले सक्ला ? केही नभए पनि पींढी, आँगन वा तुलसीको मोठ आसपासमा त आश्रय पाउनु पर्ने होइन र ? मानवीय संवेदनशिलता नीति निर्णायकमा वा सत्तासीनहरुमा हराएको भए पनि समाजमा बाँकी छ ।अव त्यसलाई जगाउनु पर्छ र सत्कर्ममा लगाउनु पर्छ । कोरोनाको भय भागोस्, सबैको जय होस् ।

लेखक : घिमिरे नेपाल पत्रकार महासंघ जापानको सल्लाहकार हुनुहुन्छ ।