शुक्रबार, बैशाख ०७, २०८१

युवा परिषदमा ढुंगेलको चारवर्ष : युवामैत्री संविधानदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म

काठमाडौं । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले चार वर्षमा ‘नमुना युवा संसद्’ गठन मुख्यरुपमा लिएका छन् । सोह्र देखि २४ वर्षका युवालाई संसदीय अभ्यासबाट हरेक क्षेत्रमा नेतृत्व विकास गर्न परिषद्ले आर्थिक वर्ष २०७४/०७५ बाट नमूना युवा संसदको अभ्यास गर्न थालिएको हो । हालसम्म ९१ स्थानीय तह, सात प्रदेश र एक सङ्घीय तहमा गरी जम्मा ९९ तहमा नमूना युवा संसद्को अभ्यास गरिएको उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

एक वडा एक युवा क्लब र एक उद्यम कार्यक्रम तथा राष्ट्रिय युवा सञ्जाल गठन तथा परिचालनको कार्यढाँचा, युवामैत्री स्थानीय तह निर्माण गर्ने कार्यढाँचा प्रगतिमा उनले उल्लेख गरेका छन् । यसैगरी एक हजार २२३ वडामा वडास्तरीय युवाक्लब गठन गरी युवाको नेतृत्व विकास गरिँदै आइरहेको छ । युवा सम्बद्ध ४३९ सङ्घसंस्था युवा परिषद्मा आबद्ध भई युवा लक्षित कार्यक्रममा समन्वय र सहकार्यको वातावरण निर्माण गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

बाध्यताबस विदेशिने युवाको सङ्ख्या पाँच वर्षअघि प्रतिवर्ष पाँच लाख ३८ हजार रहेकामा हाल त्यो सङ्ख्या न्यूनीकरण भई तीन लाख २३ हजारमा झरेको अवस्था छ । युवा परिषद्का युवालक्षित विभिन्न कार्यक्रमले स्वदेशमा नै स्वरोजगार बनाएकाले विदेश जाने युवाका संस्था घटेको उनले बताउँछन् । परिषद्कै आर्थिक वर्ष २०७३/०७४ मा ९९.३८ प्रतिशत भौतिक र वित्तीय ७९.४२ प्रतिशत, आव २०७४/०७५ मा ११०.७७ प्रतिशत भौतिक र ८१.३२ प्रतिशत वित्तीय तथा आव २०७५/०७६ मा १०५ प्रतिशत भौतिक र ७८.९५ प्रतिशत वित्तीय प्रगति रहेको उल्लेख गरिएको छ ।

ढुङ्गेलले आफ्नो कार्यकालमा युवाको अन्तर्राष्ट्रिय सूचकमा प्रगति भएको उल्लेख गरेका छन् । सन् २०१० मा अन्तर्राष्ट्रियरुपमा नेपाल १४५औँ स्थानमा रहेकामा सन् २०१९ मा ६८ देशलाई उछिनेर ७७औँ स्थानमा स्तरवृद्धि गरेको छ ।

ढुङ्गेलले आफ्नो कार्यकाल दुई अन्तर्राष्ट्रिय अवार्डसमेत पाएको बताए । परिषद्का कार्यकारी उपाध्यक्ष विश्व युवा पुरस्कार–२०१८ बाट सम्मानित हुनु भएको थियो । यस्तै नेपालको संविधान युवामैत्री भएकाले विश्व व्यवस्थापिका सङ्घबाट सन् २०१८ को फ्युचर पोलिसी अवार्डअन्तर्गत नेपाललाई सिल्भर अवार्ड प्राप्त भएको उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

यसैगरी संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मानवअधिकार युवा फोरम–२०१७ मा परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेललबाट अतिथि वक्ताका रुपमा सम्बोधन गरिएको कुरालाई पनि प्रगतिमा उल्लेख गरिएको छ ।

परिषद्कै अगुवाइमा नवप्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । विराटनगरमा प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयसँग सहकार्य गरेर परिषद्ले युवाको प्रतिभालाई प्रस्फुटन गराई स्वरोजगार गराउन प्रवद्र्धन केन्द्रको स्थापना गरेको हो । केन्द्रले युवालाई केही निश्चित समयसम्म राखेर उनीहरुमा रहेको प्रतिभाअनुसार नै स्वरोजगार बनाउन सहयोगी भूमिका खेल्नेछ ।

यसैगरी काठमाडौँ विश्वविद्यालय र परिषद्को साझेदारीमा काभ्रेको धुलिखेलमा नवप्रवद्र्धन खोलिन थालिएको छ । उपाध्यक्ष ढुङ्गेलले परिषद्कै पहलमा युवालाई मुलुकमा नै स्वरोजगार बनाउन सहुलियपूर्ण कर्जा ल्याइएको जानकारी दिए । अहिले सो कर्जाबाट करिब २२ हजार युवाले रु दुई लाखदेखि रु एक करोडसम्म सहुलियतपूर्ण कर्जा पाएर कृषि, पर्यटन, उद्योग र व्यापार व्यवसाय गरिरहेका छन् ।

अहिले युवा ४०.३५ प्रतिशत रहेका छन् । स्थानीय तहमा १३ हजार ८९३, प्रदेश तहमा १३० र प्रतिनिधिसभामा ३६ युवा सांसद रहेका छन् । युवाको साक्षरता प्रतिशत वृद्धि भई पुरुष ८५ प्रतिशत र महिला ८१ प्रतिशत पुगेको छ । युवामा उद्यमशीलता र व्यावसायिक सोचको विकास भई स्वदेशमा नै स्वरोजगार हुनेको सङ्ख्या वृद्धि भएको छ ।

सरकारले २०७२ सालमा युवा विकास, सशक्तीकरण एवं मूल प्रवाहीकरणसम्बन्धी विषयमा नेपाल सरकारलाई सुझाव दिने, युवालाई राष्ट्र निर्माणमा सहभागी हुन तथा मुलुक निर्माणमा केन्द्रित भई अघि बढ्न उत्प्रेरित गर्न परिषद् गठन गरिएको हो । विसं २०७२ फागुन १९ गते मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सरकारले परिषद्को उपाध्यक्षमा ढुङ्गेललाई चार वर्षका लागि नियुक्ति गरिएको हो । युवालक्षित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन नहुनु, युवाका कार्यक्रम कम प्राथमिकतामा पर्नु चुनौती रहेको परिषद्का उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए ।

प्रदेश र जिल्ला तहमा परिषद्को संरचना नहुँदा कार्यक्रम कार्यान्वयन तथा समन्वयमा समस्या, स्थायी दरबन्दीको कर्मचारीको अभाव र सधैँ काजमा ल्याई कामकाज गराउनुपर्ने अवस्था युवा क्षेत्रमा ०।५ प्रतिशतभन्दा पनि कम बजेट विनियोजन हुनु, राष्ट्रिय युवा परिषद्को कार्यक्षेत्र व्यापक हुँदै जानु तर बजेटको आकार क्रमशः घट्दै गएको अवस्था, युवा परिषद् ऐन संशोधनको विषय टुङ्गो लाग्न नसक्नु समस्या रहेको उनको भनाइ छ ।

उनले चालू आवमा युवाको नेतृत्व क्षमता विकास र स्वयंसेवकीय कार्यमा युवा परिचालन गर्ने मुख्य निकायका रुपमा रही न्यूनतम् १० हजार युवालाई नेतृत्व क्षमता विकास तालिम प्रदान गरिने र स्थानीय वडास्तरीय युवा क्लब, गाउँ र नगर युवा क्लब सञ्जाल, प्रदेश युवाक्लब सञ्जाल र सङ्घीय युवा क्लब सञ्जालबाट गरी कूल १० लाख युवा परिचालन गरिने जानकारी दिए ।