शुक्रबार, बैशाख ०७, २०८१

कोरानो भाइरस त्रास: नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम स्थगित गर्ने तयारी

काठमाडौं । कोरानो भाइरसको संक्रमण रोक्न सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद  कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएपनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवत केहि दिनभित्रै औपचारिक निर्णय हुनेछ ।

चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण अहिले युरोप र मध्यपूर्वसम्म फैलिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेपछि सरकारले शनिबार मात्र उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति नै बनाएको थियो । आइतबार मन्त्रिपरिषद् लगतै समिति बैठक बसेको थियो, जहाँ भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्नेबारे छलफल भएको छ ।

कोरोनाबारे सतर्कतामा जोड दिने बेलामा पर्यटन प्रवर्द्धनमा ध्यान दिन नसकिने भएकाले अहिलेलाई भ्रमण वर्ष रोकेर अघि बढ्नुपर्ने कुरा बैठकमा उठेको एक मन्त्रीले बताए । यसबारे पर्यटन मन्त्रालयले अवस्था विश्लेषण गरेर आवश्यक निर्णय लिने बताइएको छ । शनिबार नै सरकारले विदेशमा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो ।त्यसैगरी सरकारले विभिन्न कोरोना अतिप्रभावित मुलुकबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ ।

चीनका साथै जापान, दक्षिण कोरिया, हङकङ र इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ ।