मङ्गलबार, बैशाख ०४, २०८१

मेनस्ट्रिम फिल्ममा आदिवासित्व चित्रणप्रति सचेत हुन सुझाव

काठमाडौं । नेपाल मातृभाषी दिवसको अवसरमा मार्टिन चौतारीले आदिवासी जनजाति चलचित्रको स्तर र अवस्था विषयक छलफल चलाएको छ  ।

मिस्डकास्टले नेपाली फिल्ममा संकट सिर्जना गरेको बताउँदै आदिवासी जनजाति फिल्ममेकरले यसलाई सच्याउन आग्रह गरेका छन् । मार्टिन चौतारीमा आयोजित छलफलमा उनीहरुले मेनस्ट्रिम फिल्ममा आदिवासित्व चित्रणप्रति सचेत हुन सुझाए । आदिवासी जनजाति चलचित्र महासंघकी पूर्वअध्यक्ष प्रतिमाया पुनले आदिवासी जनजाति फिल्मले फिल्म निर्माणको आधारभूत चरित्र नै नबोक्नु समस्या भएको औंल्याइन् । नेपाली फिल्मले आदिवासी र लैंगिकताको चित्रणमा अन्याय गरेको उनको ठम्याइ छ ।

अवतार र रेभिनेन्टजस्ता हलिउड फिल्म पनि आदिवासी फिल्म भएको र तिनले आदिवासी एजेन्डा भनेको उदाहरण उनले दिइन् । ‘जति पढ्दै गयो र उति बुझ्दै गयो, त्यति फिल्म बनाउन नसकिने रहेछ’ उनले भनिन्, ‘मै कमब्याक गर्न सकिरहेकी छैन । इन्डिजिनियस फिल्म अर्काइभ आइफाका संजोग लाफा मगरले नेपालमा एउटा पनि आदिवासी फिल्म निर्माण नभएको दाबी गरे । ‘बनेका जति सबै मातृभाषी फिल्म हुन् ।

नेपाली फिल्ममा मिस्डकास्टको समस्या भएको भन्दै उनले यसलाई तोडिनुपर्ने बताए । ‘यादव खरेल निर्देशित प्रेमपिण्डकी नायिका तामाङ थरकी हुनुपर्ने थियो तर सनी रौनियारलाई हिरोइन बनाइयो । मिस्डकास्ट कसरी हुन्छ भन्ने यो एउटा उदाहरण हो’ उनले भने, ‘तर, दयाहाङ राईले केही हदसम्म यो प्रवृत्तिलाई तोडेका छन् ।

नेपालमा बन्ने आदिवासी फिल्मको आत्मा मूलधार भएको टिप्पणी गर्दै मगरले जनजाति फिल्म यसबाट मुक्त हुनुपर्ने बताए । ‘मैले एउटा मगर फिल्म बनाएँ तर म आफैले त्यसलाई हेर्न सकिरहेको छैन । कता कता मिथुन चक्रवर्तीको लाग्ने’ उनले भने ।

अनुप सुवेदीले जनरमा आधारित जनजाति फिल्मको संख्या बढिरहेको बताए । मुख्य कुरा भिजुअल ल्यांग्वेजलाई कल्चरसँग जोड्नुपर्ने बताउदै सूबेदीले तामाङ फिल्म एक्सन, नेवारी फिल्म कमेडी र गुरुङ फिल्म नाचगानमा केन्द्रित भएको बताउँदै उनले आदिवासी फिल्मले आफू हुनुको मर्म विकास गर्नुपर्ने बताए ।