शुक्रबार, बैशाख ०७, २०८१

चिनियाँ राष्ट्रपतिले किन लेखे बिल गेट्सलाई पत्र ?

चिन : चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भनी धन्यवाद दिँदै विश्वकै सर्वाधिक धनी मध्येका एक बिल गेट्सलाई पत्र लेखेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।
पत्रमा राष्ट्रपति सीले लेखेका छन्, ‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’

उनले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । महामारी नियन्त्रणका लागि अन्तर्रा्ष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए । कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ ।