शुक्रबार, बैशाख ०७, २०८१

चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित

काठमाडौँ । पछिल्लो समय चीनमा ब्यापक रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मात्रै २ सय ४२ जनाको ज्यान गएको छ ।

हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ५० पुगेको र ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि चीनमा फेब्रुवरी ३ मा ६४, फेब्रुवरी ४ मा ६६, फेब्रुवरी ५ र ६ मा ७३, ७३, फेब्रुवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेब्रुवरी ९ मा ९७, १० मा १०८, ११ मा ९७ र १२ मा २ सय ४२ जनाको ज्यान गएको छ।

यसैगरी चीनसँग सीमा जोडिएको नेपालको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपनि सो भाइरल कोरोना नभएको पुष्टी भएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको भएपनि त्यो मौसमी भाइरल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार २०१ जनाले उपचारका लागि नाम दर्ता गराएको भएपनि उनीहरु उपचार पछि घर फर्किन थालेको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले बताए ।