शनिबार, बैशाख ०८, २०८१

समुद्र प्रयोगको अधिकारलाई हनन गर्नुहुन्न

काठमाडौं । नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताएका छन् । उनले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुने जिकिर गरे ।

पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘भूपरिवेष्ठित राष्ट्रका लागि समुद्र प्रयोगको कानून’ विषयक छलफलमा उनले बहुपक्षीय संवादको माध्यमबाट भूपेरिवेष्ठित राष्ट्रका पक्षमा निर्माण भएको कानूनलाई प्रयोगमा लैजानुपर्ने बताए। “ठूला र शक्तिसम्पन्न राष्ट्रले मझौला र साना देशलाई समुद्रको पहुँच उपभोग गर्न सहजीकरण गरिदिनुपर्छ”, उनले भने ।

ब्राजिलको साओपाउलो विश्वविद्यालयका प्राध्यापक रोड्रिगो फर्नान्डे मोरले समुद्रको अध्ययन, सहकार्य र विभिन्न मुद्दामा जलवायु परिवर्तनका कारण चुनौती थपिएको बताए । प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटाले संयुक्त राष्ट्र संघको ‘ल अफ सि’लाई कार्यान्वयन गर्न यसप्रकारका कार्यक्रमले टेवा पु¥याउने बताए ।