शुक्रबार, चैत १६, २०८०

अग्नि सापकोटाबारे माइतीघरमा दुःख नर्गनुहोसः प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन्।

कर्तव्य ज्यान मुद्दा खेपिरहेका सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाएपछि त्यसको आलोचना भइरहेको बेला प्रचण्डको यो भनाई आएको हो।

सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेका छन्। बुधबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न आग्रह गरे।

‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो। अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा’, दाहालले भने। नेकपाले सर्वसम्मत रुपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतीघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिए।

प्रचण्डले सापकोटाका विरुद्धमा कुनै मुद्दा नै नभएको समेत बताए। ‘उहाँमाथि केही पनि छैन। बेकारको कुरा हो त्यो। हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सा¥यौं। हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरुले दुःख नगरे हुन्थ्यो’, प्रचण्डले भने।

यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए। ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिाई सभामुख नबनाऊ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार र कानूनी शासनको सम्मान गर’ भन्ने नारा सहित अधिकारवादीहरुले प्रदर्शन गरेका थिए।