शुक्रबार, चैत १६, २०८०

म्युजिक नेपालद्वारा चलचित्र पनि अनधिकृत रूपमा युट्युबमा अपलोड

म्युजिक नेपालले संगीतकर्मीलाई मात्रै होइन, चलचित्रकर्मी निर्माताहरूको पनि चरम शोषण गरेको पाइएको छ ।

निर्माताहरूसँग गीतरफिल्म लिने, तर त्यसको रोयल्टी नदिई उसले ठगी गर्दै आएको हो । उसको ठगीमा पर्नेमा पुरानादेखि नयाँ निर्मातासम्म परेका छन् ।

म्युजिक नेपालले क्यासेट र डिभिडी निकाल्ने भन्दै निर्माताहरूसँग सम्झौता गर्ने, तर ती गीत युट्युबमा राख्दा कपिराइट दाबी गर्दै आर्थिक शोषण गर्ने गरेको छ ।

उसले विनास्वीकृति चलचित्रका हजारौँ गीतमा कपिराइट दाबी गरेर कमाइ गर्दै आएको छ । संगीतकर्मी र चलचित्रकर्मीलाई शोषण गर्दै आएको म्युजिक नेपालको मासिक कमाइ एक करोड रुपैयाँभन्दा बढी रहेको एक निर्माताले बताए ।

निर्माता संघका पूर्वअध्यक्ष युवराज लामाले म्युजिक नेपालको चरम शोषणमा आफू पनि परेको बताए ।

‘पहिला म्युुजिक नेपाललगायतका संस्थालाई क्यासेट, सिडी बिक्री गर्न भनेर दिने गरिन्थ्यो । अहिले सिडीको ठाउँमा आगामी पचास, सय वर्षसम्म आउने प्रविधिमाथि उहाँहरूले सोध्दै नसोधी व्यवसाय गरिरहनुभएको छ । मनग्य कमाइरहनुभएको छ । क्यासेट र सिडीबाहेक पेनड्राइभमा बजाउने अधिकार पनि उहाँहरूलाई छैन । इन्टरनेट त परै जाओस्,’ उनले भने ।

म्युजिक नेपालले चलचित्रका गीतका क्यासेट र सिडी निकाल्न भनी अधिकार लिने, तर पछि ती चलचित्रका गीतलाई युट्युबमा राखेर कपिराइट क्लेम गर्दै आएको छ । यस्तै मारमा निर्मात्री तथा नायिका श्वेता खड्का पनि परेकी छिन् ।

श्वेताले अभिनय गरेको पहिलो चलचित्र ‘कहाँ भेटिएला’ फिल्मको गीतको म्युजिक नेपालले क्यासेट र सिडी निकाल्न अधिकार लिए पनि पछि युट्युबमा राखेर कमाइ गर्दै आएको छ ।

‘कहाँ भेटिएला’ मेरो पहिलो डेब्यु फिल्म हो । सन् २०१४ मा म्युजिक नेपालले युट्युबमा अपलोड गरेको रहेछ । युट्युब च्यानलमा ‘प्रोभाइडेड बाई ओएसआर डिजिटल प्रालि’ भन्ने छ । तर, सबै कपिराइट म्युजिक नेपालको छ । यसरी सबै कपिराइट कसरी म्युजिक नेपालको भयो ? थाहा छैन,’ श्वेताले भनिन्, ‘उहाँ (श्रीकृष्ण श्रेष्ठ) हुँदै दिनुभएजस्तो लाग्छ । त्यसवेला युट्युबकै लागि भनेर थियो दिइएको जस्तो लाग्दैन ।’

‘नुमाफुङ’ चलचित्रका निर्देशक नवीन सुब्बाले म्युजिक नेपालसँग कानुनी लडाइँ लड्ने तयारीमा रहेको जानकारी दिए । आफूहरूसँग कुनै सम्झौता नै नगरी ‘नुमाफुङ’ चलचित्र म्युजिक नेपालले युट्युबमा राखेको उनको भनाइ छ ।

‘म्युजिक नेपालले ‘नुमाफुङ’ युट्युबमा अपलोड गरेको छ, तर हामीसँग सम्झौता नै गरेको छैन । त्यत्तिकै युट्युबमा हालिदिएको छ । अब सम्झौता नै नगरेपछि रोयल्टी पाउने कुरै हुन्न । हामी कानुनी लडाइँ लड्ने तयारीमा छौँ,’ उनले भने ।

‘बलिदान’ चलचित्रका निर्माता श्यामकुमार सापकोटा पनि म्युजिक नेपालबाट ठगिएका छन् । उनले म्युजिक नेपाललाई चलचित्रको गीतको क्यासेट निकाल्न अधिकार दिएका थिए । तर, उसले सोध्दैनसोधी युट्युबमा चलचित्र अपलोड गरेकोे सापकोटा बताउँछन् ।

‘०५२ सालमा चलचित्रको गीत रेकर्ड गराएर म्युजिक नेपाललाई अधिकार दियौँ । तर, त्यो अधिकार अडियो क्यासेट र सिडीका लागि मात्र थियो । आर्थिक वर्ष सकिएपछि हिसाब–किताब क्लियर गर्ने सम्झौता भएको थियो । वार्षिक कति क्यासेट बिक्री भए थाहै भएन । पाँच–सात वर्षपछि त मलाई खबर नै गर्न छाडे । वास्तविक रोयल्टी पनि देखाइएन अनि पछि मैले पशुपति रेकर्डस्लाई डिभिडी, भिसिडी बनाउने अधिकार दिएँ,’ सापकोटाले भने ।

निर्माता निर्देशक सम्झना रौनियारको पीडा पनि उस्तै छ । ‘मेघा’ चलचित्रमा गोपाल योञ्जनको गीत राख्दा भिडियोको समेत कपिराइट दाबी गर्दै म्युजिक नेपालले आफूहरूको कमाइ खाएको उनको गुनासो छ ।

गोपाल योञ्जनका गीतको अडियोराइट मात्र लिए पनि भिडियोको समेत रहेको भन्दै युट्युबमा राखेर ६ महिनाको कमाइ म्युजिक नेपालले खाइदिएको उनको भनाइ छ ।

‘मेघा’ फिल्म बनाउने तयारीमा थिएँ । कथा तयार भएपछि केही गीत गोपाल योञ्जन दाइको संगीत र शब्दमा भएको पुरानो गीत राख्ने कुरा भयो । गोपाल योञ्जन दाइकी श्रीमती रेन्छिन योञ्जन दिदीलाई सम्पर्क गर्‍यौँ । गोपाल दाइका गीतहरूको कपिराइट अधिकार उहाँसँग थियो । म्युजिक नेपालले गीतका अडियोराइट मात्र लिएको रहेछ । नयाँ पत्रिकामा खबर छ ।