बिहिबार, चैत १५, २०८०

यसरी बले काठमाडौंका चोकचोकमा ट्राफिक बत्ती,धेरै जना अचम्मित

काठमाडौँ । काठमाडौंका मुख्य चोकमा केही दिनदेखि ट्राफिक बत्ती बल्न थालेका छन् । लामो समयपछि काठमाडौं उपत्यकामा एक्कासि बत्ती बल्न थालेपछि धेरै जना अचम्मित भएका छन् ।

अहिले काठमाडौंका केही चोकमा बत्ती बले पनि सरकारले ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना अघि सारेर काम गरिरहेको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट कार्ययोजना पारित गरेर प्रभावकारी नतिजा देखाउने गरी काम थालेको हो ।

गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ पारित गरेर अहिले ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । कार्ययोजनामा कुन काम, कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने पनि तोकिएको छ ।

कार्ययोजनामा पुस मसान्तभित्र काठमाडौंका नौ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्ने उल्लेख छ । त्यसै कार्ययोजनालाई कार्यान्वयन गर्दै सडक विभाग र महानगरीय ट्राफिक महाशाखाले हाल ११ स्थानमा बत्ती सञ्चालनमा ल्याएको छ ।

‘हाल काठमाडौंका ११ स्थानमा बत्ती सञ्चालनमा गर्न सफल भएका छौं, अन्य ५–६ स्थानमा पनि चाँडै सञ्चालनमा आउने अवस्था छ,’ महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भने ।

कार्ययोजनाअनुसार आगामी वैशाखभित्र काठमाडौं उपत्यकाका २९ स्थानमा ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्नेछ भने असारभित्र स्मार्ट प्रविधिमैत्री ट्राफिक लाइट सुरुवात गरिसक्नपर्नेछ ।

ट्राफिक प्रमुख ढकाल वैशाखसम्म २९ स्थानमा बत्ती सञ्चालन गर्ने गरी काम अघि बढेको बताउँछन् । मुख्य सडकमा ट्राफिक बत्ती सञ्चालन हुनु ठूलो उपलब्धि भएको उनले बताए । काठमाडौं उपत्यकामा ट्राफिक बत्ती अभावमा लामो समयदेखि ट्राफिक प्रहरी हातको भरमा ट्राफिक व्यवस्थापन गर्न बाध्य हुँदै आएका छन् ।

ट्राफिक बत्तीको अभावमा सर्वसाधारण तथा सवारी चालकले पनि अनावश्यक दुःख खेप्नुपरेको छ ।

कार्ययोजनाअनुसार पुसभित्र ट्राफिक बत्ती सञ्चालनमा ल्याउनुपर्ने ठाउँहरूमा बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर र मित्रपार्क तोकिएका थिए । यस्तै, जावलाखेल, थापाथली, माइतीघर, बासघारीमोड, कृष्ण पाउरोटी, काठमाडौं प्लाजा, जय नेपाल हल, नागपोखरी, गैरीधारा, एकेडेमी जक्सन, लोत्सेचोक, कुमारी मन्दिर, ज्ञानेश्वर चोक, रातोपुल, तिलगंगा, कलंकी नयाँबाटो, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, काठमाडौं महानगरपालिका गेट, नागस्थान, जमल, केशरमहल, लैनचौर, डीडीसी मोड, खानी विभाग, दरबारमार्ग दक्षिणगेट र महेन्द्र सालिकमा वैशाखभित्र ट्राफिक बत्ती सञ्चालन गरिसक्नुपर्नेछ ।

ट्राफिक बत्ती व्यवस्थापनका लागि अहिले सडक विभागको प्राविधिक टोली सक्रिय रूपमा खटिएको छ । ट्राफिक महाशाखाले पनि आफ्नो प्राविधिक टोली सहयोगका लागि खटाएको जनाएको छ । काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका पनि सहयोग गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।