शनिबार, बैशाख ०८, २०८१

एलसी खोल्ने बैंकहरुलाई कारबाही गरिने : मन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको बताए ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूचि सरकारले उपलब्ध गराउने र उक्त मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताए । अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ती शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह समेत गरे । उनले आन्तरिक उत्पादनमा जोड दिन समेत व्यवसायीहरुलाई आग्रह गरे । सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ,ब्राण्डीङ, तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन समेत आग्रह गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताए । त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझैपनि व्यवसायीक वातावरण विग्रिएको बताए । अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर बढाएको छैन, मूल्य अभिवृद्धि कर पनि बढाएको छैन तर कसरी व्यवसायीक वातावरण विग्रियो भन्दै प्रश्न गरे। उनले व्यवसायीलाई निरुत्सायी गरेर सुशासन कायम गर्न नसकिने समेत बताए ।