शुक्रबार, चैत १६, २०८०

‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’

अछाम । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ ।

प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ । त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । कतिपयले त भत्काइएका छाउगोठ बनाउन थालेका छन् ।

अछामको तुर्माखाँद गाउँपालिका–५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन् । शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने’ डरले घरभित्र पसिनन्, भत्काएकै छाउगोठमा रात बिताइन् ।

मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ । ‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी–देउताको,’ कलाले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमै बस्यौं, अहिले कसरी भित्र छिर्नु ?’

खरले छाएको दुईकोठे घरमा कला तीन नाबालक छोरासँगै बस्छिन् । श्रीमान् रोजगारका क्रममा भारतमा छन् । चाडबाडका वेला मात्रै फर्किन्छन् । निरक्षर कला महिनावारी हुँदा घरभन्दा केही पर बनाइएको छाउगोठमा बस्नु परम्परादेखि चल्दै आएको ‘सामाजिक संस्कार’ हो भन्ने बुझ्छिन् । छाउगोठमा बसेको पाइए कारबाही गर्ने भनिएकाले पक्राउ परिएला कि भन्ने डर पनि उनमा देखिन्छ ।

धाङ्टाकै हरिकला जोशी महिनावारी भएको दुई दिनदेखि भैँसीगोठमा बसिरहेकी छन् । माटो र ढुंगाले बनेको उनको दुईतले घरको भुँइतलामा गाईभैँसी बाँध्ने गोठ छ ।

घरको आँगनमुनि रहेको छाउगोठ प्रहरी र गाउँपालिकाको टोलीले भत्काइदियो । यहीबीच उनी महिनावारी भइन् । तत्काल छाउगोठ बनाउन सक्ने अवस्था नभएपछि भैँसीगोठमै बस्न थालेको उनले बताइन् ।

‘अहिले बनाउन सकिएन, अर्कोपल्ट महिनावारी हुँदा छाउगोठमै बस्छु,’ ४९ वर्षीया हरिकलाले भनिन् । महिनावारी भएको वेला घरभित्र बस्दा परिवारका सदस्य बिरामी हुने, गाईभैँसी मर्ने, घरभित्रै सर्पहरू देखिनेजस्ता विपत्ति आउने हरिकलाको बुझाइ छ ।

तुर्माखाँदको जस्तै छाउगोठ भत्काउने अभियान अछामका सबै स्थानीय तहले चलाएका छन् । गत मंसिरमा साँफेबगर नगरपालिकाकी पार्वती बुढाको छाउगोठमै मृत्यु भएपछि ९ पुसदेखि जिल्लाभर छाउगोठ भत्काउने अभियान सुरु भएको हो ।

अहिलेसम्म जिल्लाभर एक हजार ६ सय छाउगोठ भत्काइएका छन् । तर, महिला हिंसाको चरम रूप छाउपडीबारे ग्रामीण महिलाहरूको बुझाइ यति रुढीवादी छ कि उनीहरू नै महिनावारी भएका वेला भित्र बस्न तयार छैनन् । छाउगोठ बस्नुलाई उनीहरू ‘संस्कार’ भन्ने बुझ्छन् ।

‘सरकारले जसरी छाउगोठमा बस्न पाइदैन, कारबाही गर्छौँ भनिरहेको छ, त्यसरी नै धर्म, संस्कार मान्न पाइदैन पनि भनिदिनु प¥यो । होइन भने हामीले परम्परादेखि मान्दै आएको संस्कार मान्न दिनुप¥यो’, हरिकलाले भनिन् ।

तुर्माखाँद–५, कि अमृता जैशीको हठ पनि उस्तै छ । परिवारका सदस्यले भित्र बस्न भने पनि आफू नबस्ने उनले बताइन् । ‘महिनावारी हुँदा आँगनमा त जाँदैनौं, घरभित्र कहाँ बस्नु ?,’ उनले भनिन्, ‘ महिनावारी भएका बेला घरभित्र बस्दा देवीदेउता रिसाएर परिवारका सदस्यलाई केही भइहाले के गर्ने ?’ भत्काइएको छाउगोठ बनाउन नसके पाल टाँगेरै भएपनि बाहिरै बस्ने उनको भनाइ छ ।

घरका अभिभावक पनि महिलालाई महिनावारी हुँदा घरभित्र राख्न स्वीकार्दैनन् । स्थानीय ७५ वर्षीय हिउखर जोशीले देउता रिसाउने भएकाले महिनावारी हुँदा महिलालाई घरभित्र राख्न नसकिने बताए । ‘छाउगोठ भत्काइदिए, महिनावारीलाई भित्र राख्दा केही भइहाले के गर्ने ? देउताले बस्न दिए पो बस्न दिने हो,’ जोशीले भने ।

सानो घर भएका महिलाले घरभित्रै बसेर छाउ बार्न समस्या भएको बताएका छन् । तुर्माखाँद चामेतोलीकी अमृता बिकको खरले छाएको तीन कोठे घरमा दुई भाइको १४ जनाको परिवार बस्छ । ‘ठूलो परिवार छ, अहिले नै बस्न समस्या छ, महिनावारी हुँदा कहाँ बस्ने ? छिमेकीको घरमा जानुपर्ने अवस्था आएको छ’, उनले भनिन् ।

अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले माघ महिनासम्म जिल्लाका सबै ९० वटा वडा, फागुन १५ भित्र सबै स्थानीय तह र फागुन मसान्तभित्र जिल्लालाई नै छाउगोठ मुक्त घोषणा गर्ने गरी अभियान चलिरहेको बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।