शनिबार, बैशाख ०८, २०८१

प्रदेश ३ को नाम र राजधानी तोक्न आज मतदान

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी तथा नाम टुंगो लगाउन आइतबार बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने कार्यसूची तय भएको छ ।

प्रदेशसभाका ५ दलका १ सय ५ जना सदस्य स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्न सहमत भएपछि मतदानको कार्यसूची तय भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

संविधानअनुसार प्रदेशको नाम र राजधानी प्रदेशसभाको कुल संख्या १ सय १० मध्यको दुईतिहाइ अर्थात् ७४ मतले टुंगो लगाउन सक्नेछ ।

प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको छ ।

बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन् ।

नाममा नेमकिपाको पनि समर्थन छ । प्रदेशको स्थायी राजधानीका लागि २ वटा नाम प्रदेशसभामा दर्ता भएको छ ।

प्रदेशसभामा नेकपा प्रदेश ३ संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक, कांग्रेस प्रदेश ३ का नेता बानियाँ, राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक रहेर ३ नम्बर प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बनाइयोस् भन्दै प्रस्ताव दर्ता भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।