शनिबार, बैशाख ०८, २०८१

उपसभामुखलाई राजीनामा गर्न लगाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।” प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”

नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन।

सभामुख कसलाई बनाउन खोज्नु भएको हो भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता श्रेष्ठले कुनै जानकारी दिनुभएन।

गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ।

सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन।

निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ।