बिहिबार, बैशाख १३, २०८१

प्राविधिकबिना मेरो ३२ वर्षे चलचित्र यात्रा सम्भव थिएन : राजेश हमाल

काठमाडौं। महानायक राजेश हमालले प्राविधिकबिना आफ्नो चलचित्र यात्रा सम्भव नभएको बताएका छन्।

उनले आफ्नो मात्र होइन्, प्राविधिकबिना सिंगो चलचित्र क्षेत्र नै अधुरो रहेको बताए। हमालले आफ्नो ३२ वर्षे चलचित्र यात्रा प्राविधिकहरुकै कारण सम्भव भएको बताएका हुन्। सोमबार राजधानीमा ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा कार्यक्रममा हमालले भने, –‘मैले यति लामो चलचित्र यात्रा तय गरेँ। प्राविधिकहरुबीना मेरो यो यात्रा सम्भव हुने थिएन्।’

उनले सुरुवातदेखि नै आफ्नो प्राविधिकहरुसँग आत्मिय तथा सम्मानजनक सम्बन्ध रहेको बताए।

निर्देशक तुलसी घिमिरेले सुरुवातका दिनमा बम्बई र कलकत्ताबाट नेपाली फिल्ममा प्राविधिक ल्याइने गरेको बताए। उनले फिल्मको प्राविधिक क्षेत्रमा नेपालले छोटो समयमै फड्को मारेकोमा खुशी व्यक्त गरे। ‘टेक्नोलोजी एकदमै छिटो चेञ्ज भयो। यो चेन्जेजलाई प्राविधिक भाईवैनीहरुले अध्ययन गरेर अपटेड गराउनुभयो’ उनले भने ‘यो खुःसीको कुरा हो।’ महानायक हमालले झै घिमिरेले पनि प्राविधिकबिना चलचित्र नहुने बताए।

त्यस्तै अभिनेत्री बसुन्धरा भुषाल, अभिनेता भुवन केसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले पनि चलचित्रमा प्राविधिकहरुको योगदान उच्च रहेको र रहने बताए।
नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले नेपाली चलचित्रमा पर्दा पछाडी काम गर्ने प्राविधिकहरुको साझा हितका लागि काम गर्दै आएको छ।

चलचित्र क्षेत्रको प्रवद्र्धनका लागि विगत १० वर्षदेखि ‘नेफ्टा फिल्म अवार्ड’ वितरण गर्दै आएको प्राविधिक संघले आगामी चैत १५ गते काठमाडौंमा १० औं संस्करणको अवार्ड गर्दैछ।