शनिबार, बैशाख ०८, २०८१

‘नेफ्टा फिल्म अवार्ड’ चैतको दोस्रो साता

काठमाडौं। चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण चैतको दोस्रो साता हुने भएको छ। सोमबार राजधानीको सोल्टी होटलमा एक कार्यक्रमकाबीच अवार्डबारे जानकारी दिइएको हो।

‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गरेर यसवर्षको अवार्ड नेपालमै गर्न लागिएको नेफ्टाका अध्यक्ष पुष्कर लामाले बताए।

नेफ्टाले यसअघिका ४ वटा सस्करण विदेशमा आयोजना गरेको थियो। विगत २ बर्षदेखि अवार्ड आयोजना हुन नसकेको अवस्थामा यो वर्ष नेफ्टाले अवार्ड कार्यक्रम ‘ड्रिम हाइ नेपाल’सँगको सहकार्यमा अवार्ड गर्न लागेको हो।

ड्रिम हाइ नेपालमा प्रमुख कमल जिसीले नेफ्टाको ब्राण्ड, लोकप्रियता र विश्वसनियताका कारण हातेमालो गर्न अघि आएको बताए। यसअघि सय बढि इभेन्टहरु गरिसकेको इभेन्ट कम्पनि ड्रिम हाइले गत बर्षमात्रै स्टार अभिनेता अनमोल केसीलाई लिएर ग्राण्ड इभेन्ट ‘अनमोल इभ’ सम्पन्न गरेको थियो।

काठमाडौंको टुँडिखलमा यसवर्षको अवार्ड हुनेछ। चलचित्रका विभिन्न ३२ विधामा अवार्ड वितरण हुने गरेको छ। साथमा, ‘पपुलर चलचित्र, पपुलर नायक, पपुलर नायिका, वर्षको उत्कृष्ट जनजाती फिल्म तथा जुरी अवार्ड’पनि प्रदान गरिनेछ।

घोषणा कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथीका रुपमा पुगेका थिए। त्यस्तै नायक राजेश हमाल, भूवन केसी, निर्देशक तुलसी घिमिरे, अभिनेत्री बसुन्धरा भुषाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले कार्यक्रम सफलताको शुभकामना दिँदै चलचित्र प्राविधिकहरुको योगदान चलचित्र क्षेत्रमा उल्लेखनिय रहेको बताए।