शुक्रबार, बैशाख ०७, २०८१

उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन

काठमाडौँ । काठमाडौँ उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक सेवा चुस्त बनाउँदै अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न आज ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेको छ।

कार्यालय मातहतमा रहेका सादा पोशाकका घुमुवा टोली खारेज गरेको केही दिनको अन्तरालमै कार्यालयले मातहतका प्रहरी कर्मचारीको काम कारवाहीको अनुगमन र मूल्याङ्कनका लागि यसरी टोली गठन गरेको हो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीले दिएको सेवा प्रवाह, अपराध अनुसन्धान र नियन्त्रणमा खेलेको भूमिका, साधन स्रोतको परिचालन र सदुपयोग, सुशासन कायम गर्नेदेखि अन्य गतिविधिको मूल्याङ्कन गर्नेगरी प्रहरी उपरीक्षकको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिए।

प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गठन भएको उक्त टोलीले सादा पोशाकमा समेत आवश्यकताअनुसार छड्के जाँच गर्नसक्ने अधिकार दिइएको छ।

पछिल्लो समयमा महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि उनले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षामा अब्बल भएर काम गर्न निर्देशन दिँदै रात्रि सुरक्षासमेत चुस्त पारेका थिए । ­­­

­­­­­­