मङ्गलबार, बैशाख ०४, २०८१

१३औं साग: पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले हात पार्यो स्वर्ण

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।

मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ ।

फुटबलमा नेपालको यो कीर्तिमानी स्वर्ण हो । लगातार दुई संस्करणमा साग फुटबलमा स्वर्ण जित्ने देशको सूचीमा भारत र पाकिस्तानसँगै नेपाल पनि आएको छ ।