शुक्रबार, बैशाख ०७, २०८१

१३औँ सागः महिला क्रिकेटमा बंगलादेशसँग नेपालको लज्जास्पद् हार

पोखरा । १३औं संस्करणको दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । बलियो टोली बंगलादेशसँग नेपाल १० विकेटले पराजित भएको हो । पोखरास्थित पोखरा रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.१ ओभरमा अलआउट हुँदै ५० रन मात्रै बनाएको थियो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले १३ रन, ईन्दु वर्माले १० रन तथा सोनु खड्काले १२ रन बनाएका थिए भने अन्य खेलाडीले उल्लेख योगदान दिन सकेनन् ।

खेलमा नेपालले ओपनर ब्याटर काजल श्रेष्ठलाई पहिलो विकेटका रुपमा सुन्य रनमा गुमाएको थियो। उनी पहिलो ओभरको पाँचौ बलमा पाँच बलको सामना गरेर आउट भएकी थिईन् ।

यस्तै अर्की ओपनर सीता राना मगर पनि ३ रन बनाएर आउट हुँदा नेपाली टिम सुरुवाती अवस्था देखिनै दबाबमा परेको थियो ।

यस्तै ममता चौधरीले १ रन बनाउँदा करुणा भण्डारी, सरिता मगर र अञ्जली चन्दले खाता खोल्नै सकेनन्
भने अप्सरी बेगम ५ रनमा आउट भएकी थिईन।

बलिङतर्फ बंगलादेशकी रविया खानले सर्बाधिक ४ विकेट हात पार्दा जहानारा आलमले २ तथा सलमा खातुन, नैहिदा अख्तर र फहिम खातुनले समान १–१ विकेट लिएका थिए।

जवाफी ब्याटिंगमा बंगलादेशले कुनैपनि विकेट नगुमाएर जित हाँसिल गरेको छ । जारी प्रतियोगितामा ४ अंकका साथ बंगलादेश पहिलो स्थानमा रहेको छ।

नेपालले जारी प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै कीर्तिमानी जित हाँसिल गरेको थियो ।