शुक्रबार, बैशाख ०७, २०८१

सोनाम लामाको पहलमा भारतीय अतिक्रमणविरुद्ध राष्ट्रसंघमा ज्ञापनपत्र बुझाइँदै

न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष सोनाम लामाको पहलमा भारतले हालै जारी गरेको नयाँ नक्साविरुद्ध न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ । न्यूर्योकमा बस्दै आउनुभएको उपाध्यक्ष लामाले संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउनको लागि तयारी भइरहेको बताउनुभयो ।

उपाध्यक्ष लामाले गैर आवासीय नेपाली संघ अमेरिका, न्यूर्योक च्याप्टरसहित नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

नेपालको पश्चिम उत्तर तर्फ सीमानामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवाद सम्वन्धी विषयलाई लिएर संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाउनको लागि संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघमा नजिकको सम्बन्ध कायम गर्न सफल विष्णु परियारलगायतले समय मिलाउन आवश्ययक भित्री तयारी गरिरहनु भएको र समय मिलेलगतै ज्ञापनपत्र बुझाइने उपाध्यक्ष लामाले बताउनुभयो ।

गैर आवासीय नेपाली संघले विश्वभरी रहेका ८१ एनसिसीलाई सम्बन्धीत देशमा रहेको भारतीय दूतावासमार्फत ज्ञापनपत्र बुझाउँदै धर्ना, विरोध प्रदर्शन गर्न निर्देशन दिएको छ । सोही निर्देशनअनुसार विश्वभर भारतीय अतिक्रमणको विरोधमा गैर आवासीय नेपाली संघको अगुवाईमा प्रदर्शनका कार्यक्रम भइरहहेको छ ।

हालसम्म गैर आवासीय नेपाली संघको अगुवाइमा अस्ट्रेलिया, जापान, जर्मनी, फान्स, बेल्जियम, यूके, नर्वे, स्वीडेनलगायतका देशमा विरोध प्रदर्शन तथा भारतीय दूतावासमार्फत ज्ञापनपत्र बुझाउने कार्य भइसकेको छ । सोही कार्यक्रमलाई जारी राख्दै उपाध्यक्ष लामाको पहलमा न्यूर्योकमा कार्यालय रहेको संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्रको अन्तिम तयारी भएको र केहि दिनभित्रै समय ब्यवस्थापन हुने वा नहुने विषयमा निक्यौल हुने जनाइएको छ ।