शुक्रबार, चैत १६, २०८०

सीमा विवाद : प्रधानमन्त्री ओलीद्धारा सर्वपक्षीय परामर्श बैठक आह्रान

काठमाडौं । नेपाल भारत सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ । जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको र बिगतकै नक्सा रहेको बताइसकेको छ ।

तर नेपालमा जनस्तरबाट विरोध जारी छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् । सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले भोलि शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु,पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।