बिहिबार, बैशाख ०६, २०८१

यस्तो रह्यो विदेशी राजदूतका तिहार कूटनीति

काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि शुभकामना दिइन् ।

बेलायती राजदूत रिचार्ड मोरिसले भने अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामै शुभकामना दिए । अमेरिकी राजदूतले कार्यकालको पहिलो वर्ष पूरा भएको खुसी ट्विटरबाट बाँडेको भोलिपल्टै तिहारको शुभकामना दिए ।

उनले कुकुर तिहारको दिन निवासमा कुकुरलाई माला लगाएर डुलाएको तस्बिर राख्दै शुभकामना दिएका थिए । त्यसपछि उनले हरेक दिन (लक्ष्मीपूजा, गोवद्र्धन तिहार, म्हपूजा र भाइ टीका) को शुभकामना दिँदै तस्बिर राखे । निवासमा रंगोली आफैंले बनाइरहेको तस्बिरसमेत राखे ।

तीन महिनादेखि ट्विटर चलाउन थालेकी चिनियाँ राजदूत होऊले कात्तिकमा हिमालयन एअरलाइन्सको पहिलो बेइजिङ उडानको ट्विट गरिन् । त्यसको भोलिपल्ट (लक्ष्मीपूजाको दिन) तिहारको शुभकामना दिइन् ।

‘तिहारको उज्यालोले नेपाल–चीन मित्रता उचाइमा पुगोस् । सबै नेपाली साथीहरूलाई तिहारको शुभकामना,’ उनले नेपाली र अंग्रेजी दुवै भाषामा ट्विट गरेकी छन् ।

राजदूत बेरीले भने लगातार ट्विट गर्दै रंगोली बनाउने, भाइटीका लगाउने लगायत देउसी खेलेको तस्बिर राखे । ‘मलाई देउसीको शब्द राम्रोसँग उच्चारण गर्न त आउँदैन तर म देउसीको टिममा जोडिएर देउसी खेल्न रमाउँछु,’ बेरीले लखेका छन्, ‘अमेरिकी दूतावासको युथ काउन्सिल टिमले यो देउसी जुराएकोमा धन्यवाद छ । भन भन भाइ हो…. देउसी रे । शुभ म्ह पूजा ।’

बेलायती राजदूत रिचर्ड मोरिसले नेपाली र अंग्रेजी दुवै भाषामा ट्विट गरेका छन् । ‘तिहार प्रकाश र फूलहरूको पर्व हो । प्रज्वलित दीपले काठमाडौैं र नेपाललाई सुन्दर बनाउनेछ । सबैमा तिहारको शुभकामना,’ कार्यकाल सकेर फर्कने तयारीमा रहेका बेलायती राजदूतले लेखेका छन् ।

नेपालमा रहेका राजदूतहरूले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रूपमा ढाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले हरेक चाडपर्वबारे यसैगरी शुभकामना दिँदै आएका छन् । पहिला–पहिला निवासमा नै बोलाएर रमाइलो गर्ने राजदूतहरूले अहिले ट्विटमार्फत जानकारी दिन थालेका हुन् ।

अमेरिकी राजदूतले मात्र होइन दूतावासका अन्य अधिकारीले पनि भाइटीका लगाएको तस्बिर राखेर यसको महत्वलाई झल्काएका छन् ।