बुधबार, बैशाख १२, २०८१

‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आन्तरिक द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको मौलिक विधि र सफलता विश्वका लागि उदाहरणीय भएको बताएका छन्।

सर्बियाको बेलग्रेडमा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १४१ औँ सम्मेलनअन्तर्गत ‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणः संसदको भूमिका र संयन्त्र तथा क्षेत्रीय सहकार्यको योगदान’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले दशवर्षे द्वन्द्व समाधान गरी जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट संविधान निर्माण गर्दै स्थायित्वको मार्गमा अगाडि बढेको बताए।

अन्तर्राष्ट्रिय कानूनले अन्तर्राष्ट्रिय सरोकार र नीति निर्माणका विषयमा सहयोग गर्ने उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा आपसी सञ्चार र समझदारी अभिवृद्धिको सफल माध्यम बनेको बताए।

‘अन्तर्राष्ट्रिय कानूनको सबलीकरणले आ–आफ्नो मुलुकमा क्षेत्रीय र विश्वको समानान्तर रुपले उन्नति एवं प्रगति गर्ने विश्वास लिएको छु,’ उनले भने।

नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी रहेको अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए।

यही अक्टोबर १३ देखि शुरु भएको सम्मेलन १७ अक्टोबरसम्म चल्नेछ। नेपाललगायत १७१ राष्ट्रका सांसद र अन्य ११ एसोसिएट सदस्य राष्ट्र सम्मेलनमा सहभागी छन्। रासस