शुक्रबार, बैशाख ०७, २०८१

पाहुनालाई सत्कार गर्नका लागि विदा दिनु पटक्कै सुहाएन सरकार

वेद काफ्ले,जापान । होइन हाम्रो नेपालमा समयको कुनै महत्त्व छैन ? हाम्रा समयानुसार कार्यान्वयन गर्नुपर्ने पूर्वनिर्धारित कुनै कार्यतालिका हुँदैनन् ? विद्यालय, कलेजमा समयानुसार दैनिक पढाई पुरा गरिसक्नु पर्ने कुनै पाठ्यक्रम हुँदैन ?

सरकारी कार्यालयहरूमा जनतासँग सम्बन्धित सेवा दैनिक प्रवाह गर्नुपर्ने कुनै जिम्मेवारी हुँदैन? जनताले सरकारी अड्डा, अदालतसँग सम्बन्धित कामहरू कहिले के गर्ने भनी आफू खुशी आफ्नो स्केजुअल बनाउन पाउँदैनन् ?

अनि निजी क्षेत्रका व्यापार व्यवसायमा यसरी जुनसुकै बेलामा पनि सरकारी कार्यालय बिदा गर्दा कुनै नकारात्मक प्रभाव पर्दैन? दैनिक ज्यालादारी गरेर गुजारा चलाउने श्रमजीवीको जीवनयापनमा प्रभाव पर्दैन? समग्रमा भन्नु पर्दा नेपालको वार्षिक कुल ग्राहस्थ उत्पादन (GDP)मा कुनै असर पर्दैन?

विदेशी विशिष्ट पाहुनालाई सत्कार गर्नका लागि विश्वव्यापी रूपमा प्रचलनमा आएका अनेकन् तरिका छन्। तर नेपालका विशिष्ट पदाधिकारी विदेश भ्रमणमा जाँदा होस् या विदेशी विशिष्ट नेपाल भ्रमणमा आउँदा होस्, देशभरि बिदा दिने चलन नेपाल वा नेपाल जस्तै शासकहरुले दोहन गरेर पिछडिएका देशमा मात्र छ ।

चीनका राष्ट्रपतिको भारत र नेपालको यो राजकीय भ्रमणको ‘खुशीयाली’मा उनको देशमा पक्कै पनि बिदा भएन। नेपाल आउनु भन्दा पहिले उनले भ्रमण गरेको भारतमा पनि बिदा भएको सुनिएन। उनी आज स्वदेश फिर्ती सवारी हुँदा पनि उनको देशमा पक्कै बिदा छैन। तर नेपालमा भने बिदा किन ?

जापानका सम्राट या प्रधानमन्त्रीले विदेशको राजकीय भ्रमण गर्दा होस् वा अमेरिकी राष्ट्रपतिले जापानको भ्रमण गर्दा होस्, आजसम्म त्यसरी बिदा भएको मैले सुनेको छैन। साथै नेपालका राष्ट्रपतिको यही अक्टोबर महिनामा हुने जापान भ्रमणका बेलामा पनि जापानमा बिदा हुँदैन भन्ने पक्का छ ।

यो कुरा नेपालका राष्ट्रपतिलाई अग्रिम जानकारी गराउनु पर्छ होला। फेरि पछि आफू जापान आउँदा बिदा नगरेको थाहा हुँदा आफ्नो अपमान गरेको भन्ने भ्रम हुनसक्छ।

 

 

नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिको सम्मानमा हामीले देशभरि नै बिदा गरेको भन्ने थाहा पाई उनी अत्यन्त प्रसन्न भएर नेपालले मागे जति सबै दिन्छन् भन्ने मगन्ते भावनाले पनि कुनै काम गर्दैन भन्ने पक्का छ। बरु उट्टै हामी नेपालीहरू समयको मूल्य मान्यता अझै नबुझेका बुद्धूका रूपमा चित्रण भएका हुन सक्छौं। यसरी समयको महत्त्व नबुझ्ने नेपालीले ठूला ठूला परियोजना तोकिएको समयमा पुरा गर्न नसक्ने कुरा प्रस्ट बुझेका हुन सक्छन् ।

कसैले हाम्रो यो बिदा दिने चलन पुरानो हो, यसलाई निरन्तरता दिनुपर्छ भन्ने तर्क पनि गर्नुहोला। यी चलन उहिलेका राजा वा राजाका वरिपरि रहने शासकले चलाएका हुन्, अहिलेको २१औं शताब्दी जहाँ जनताको सेवालाई केन्द्रबिन्दुमा राखेर राज्य सञ्चालन गर्नुपर्ने शासन व्यवस्था शुरु गरिसकेको “लोकतान्त्रिक” नेपाल यस्ता प्रत्युपादक चलनको कुनै औचित्य छैन भन्ने कुरा बुझ्न अब ढिलाइ गर्नु हुँदैन ।

काठमाडौंको सिंहदरबार मात्र होइन, हाम्रा गाउँ गाउँका नयाँ सिंहदरबारहरूका स्थानीय सरकारले पनि आजकल हप्तैपिच्छे जस्तो आफू खुशी बिदा गराउँछन् । सबैले बेलैमा मनन गरौं ।