बुधबार, बैशाख १२, २०८१

१४ महिनाको अवधिमा ३ सय जनप्रतिनिधिले गरे विदेश भ्रमण

काठमाडौं । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ ।

जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन ।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ । जनप्रतिनिधिहरूको भ्रमणको रोजाइमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, इन्डिोनेसियालगायतका मुलुक पर्ने गरेका छन् । राजधानी दैनिकमा खबर छ ।