शुक्रबार, चैत १६, २०८०

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग थियो यस्तो ‘कनेक्सन’

गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ ।

निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो । थापा गत मंगलबार पक्राउ परेका छन् ।

कारागारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक विपिन ओझाले तत्कालिन माओवादी कार्यकता तुलसी भन्ने व्यक्तिसँग आएर थापाले समीरसँग भेट गरेको पुष्टि गरेका छन् । ओझासँग थापाको पुरानो चिनाजानीसमेत थियो । आफू जगन्नाथ देवल कारागारमा ड्युटीमा रहेका बखत थापा समीरलाई भेट्न आएको ओझाले पुष्टि गरेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिएको बयानमा ओझाले समीर र थापाको भेट भएको उल्लेख गरेका छन् । ‘२÷३ महिनाअघि उहाँ (थापा) आउनुभएको हो । उहाँ तत्कालिन माओवादी कार्यकता तुलसीको साथमा आउनुभएको थियो,’ ओझाको बयानमा उल्लेख छ ।

उता थापाले भने सिआइबीसँगको बयानमा भने नरेश थापाले आरोप अस्वीकार गरेका छन् । नागरिक दैनिकमा खबर छ ।