शुक्रबार, बैशाख ०७, २०८१

जी सेभन: शिखर बैठकमा इरानी विदेशमन्त्रीको अनपेक्षित सहभागिता, अमेरिका आश्चर्यचकित

बीबीसी। इरानका विदेशमन्त्रीले फ्रान्समा भएको जी सेभन सम्मेलनमा पहिले घोषणा नगरिएको एउटा सङ्क्षिप्त भ्रमण गरेका छन्। विश्वका ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको उक्त सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ सहभागी भए जसमा अमेरिकी राष्ट्रपतिसहित विश्व नेताहरू भेला भएका थिए।

खबरहरूका अनुसार अमेरिकी प्रतिनिधिमण्डल जरिफको भ्रमणबाट आश्चर्यचिकत भएको छ। अमेरिकाको इरानसँग तनाव चुलिएका बेला जरिफले राष्ट्रपति ट्रम्प सहभागी भएकै सम्मेलनमा सहभागिता जनाएका हुन्।

जरिफले सामाजिक सञ्जाल ट्विटरमा फ्रान्सका समकक्षी र राष्ट्रपति दुवैसँग आफ्ना रचनात्मक वार्ता भएको बताए। “अगाडिको बाटो कठिन छ तर प्रयास गर्नुपर्ने पनि छ,” आइतवार साँझ उनले लेखेका छन्।

उनले ट्विटरमै आफूले जर्मनी र ब्रिटेनका अधिकारीहरूसँग पनि सङ्क्षिप्त भेटघाट गरेको उल्लेख गरेका छन्। जरिफले फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँसँग सम्मेलनको पूर्वसन्ध्यामा शुक्रवार प्यारिसमा भेटेका थिए।

वाशिङ्टनले सन् २०१५ मा इरानको पारमाणविक गतिविधिलाई सीमित बनाउनेसम्बन्धी सम्झौताबाट फिर्ता हुने निर्णय गरेपछि दुई देशको सम्बन्ध बिग्रिएको छ। फ्रान्ससहित अन्य पाँच राष्ट्रहरू इरानसँगको उक्त सम्झौतामा प्रतिबद्ध छन्।

तर इरानले भने अमेरिकाले आफूविरुद्ध आर्थिक प्रतिबन्धहरू थप कडा बनाएको भन्दै आफ्ना पारमाणविक गतिविधिहरू बढाएको छ।माक्रोँले दुई देशबीचको तनाव कम गर्न र सम्झौतालाई जोगाइ राख्न प्रयासस्वरूप सक्रिय भूमिका खेलेका छन्।

तर खाडी क्षेत्रवरपर तेल ट्याङ्कर कब्जामा लिएर शृङ्खलाबद्ध रूपमा तनाव भइरहँदा पश्चिमा मुलुकहरूसँगको इरानको सम्बन्ध तनावपूर्ण बनेको छ।