शनिबार, बैशाख ०८, २०८१

जापानमा नेपाली कामदार: बल्ल टुंगो लाग्यो परीक्षा मिति र मोडालिटी

निकै लामो प्रयासपछि सरकारले जापान जाने नेपाली कामदारका लागि लिइने भाषा परीक्षाको मिति र मोडालिटीबारे टुंगो लगाएको छ । पहिलो चरणमा नर्स र केयर गिभरका लागि जापान जाने कामदारको भाषा परीक्षा आगामी ११ र १२ कात्तिकमा हुने टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार केही समयअघि नेपाल र जापानका प्राविधिक टोलीबीच समझदारी भएअनुसार नेपाली कामदार जापान पठाउने सम्बन्धमा आइपर्ने विविध प्रक्रियालगायतका विषयमा छलफल भएको थियो ।

मन्त्रालयका रोजगार समन्वय महाशाखाका सहसचिव उमेश ढुंगानाले सोही छलफलका आधारमा भाषा परीक्षा र सीप परीक्षणको मिति टुंगो लागेको जानकारी दिए ।

उनले भाषा परीक्षामा उत्तीर्र्ण भएका कामदारको सीप परीक्षण पनि आगामी १९ र २० कात्तिकमा हुने बताए । मन्त्रालयका अनुसार भाषासँगै सीप परीक्षणमा सहभागी भई उत्तीर्ण भएका कामदार वैदेशिक रोजगारीका लागि जापान जान पाउनेछन् ।

नेपाल र जापान सरकारबीच भएको समझदारीमा पारित मस्यौदाअनुसार कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन–४ तहको भाषा उत्तीर्र्ण गर्नुपर्ने उल्लेख छ । यसैगरी, कामदारले एकपटक जापानी भाषा परीक्षा उत्तिर्ण गरेपछि सो परीक्षाको मान्यता १० वर्षसम्म हुन्छ । राजधानी दैनिकमा खबर छ ।