मङ्गलबार, बैशाख ११, २०८१

‘मेरो विवाह जबर्जस्ती काकाको छोरासँग गराइयो’

बीबीसी। ‘निकै सानो उमेरमा मेरो विवाह काकाको छोरासँग तय गरियो। यसलाई लिएर म सधैं असहज अनुभव गर्थें’। स्कटल्यान्डकी ३० वर्षीया नायलाले यो भनाइ बीबीसी स्कटल्यान्डको ‘न नाइन’ कार्यक्रममा बताएकी हुन्।

नायलाले भनिन्, ‘मलाइ बाल्यकालदेखि नै थाहा थियो मेरो विवाह मेरो काकाको छोरा गर्न तय गरिएको थियो। यसलाई लिएर म सधैं असहज अनुभव गर्थें। मेरो परिवार के कुरालाई लिएर सधैं चिन्तित हुन्थे भने कतै म पश्चिमी संस्कृतिमा नरमाउँ। उहाँहरुलाई के लाग्थ्यो भने म सधैं पश्चिमी संस्कृतिबाट बच्नुपर्छ।’

मीरपुर मुस्लिम परिवारमा कडा अनुशासनमा हुर्किएकी नायला भन्छिन्–म आफ्नो विचार खुलेर प्रकट गर्न चाहन्थेँ र, एउटा छुट्टै जीवन बिताउन चाहन्थेँ।’ सात वर्षको उमेरमा उनलाई पाकिस्तान लैजाने घटना उनलाई आजपनि सम्झना छ। उनले भनिन्–मलाइ के भन्न थालियो भने मैले पाप गरेकी छु। अब तिमीले कजनसँग विवाह गर्नुपर्छ। तिमीले आफ्नो परिवारको नाक काट्यौ। अब तिमी कजनसँग विवाह गरेर हाम्रो इज्जत बनाउन सक्छौ।’

सुरुमा नायलाले कजनसँग विवाह गर्न अस्वीकार गरेकी थिइन्। तर परिवारका सदस्यले लगातार दवाब दिएपछि उनले परिवारको कुरा मान्न बाध्य हुनुपर्यो।
‘म केवल उहाँहरुलाई चुप गराउन चाहन्थेँ। त्यसपछि मेरो अवस्था कस्तो भयो भने मेरो शरीरबाट प्राण निस्किँदै थियो। तन–मन र दिमाग खाली भएजस्तो हुन्थ्यो। किनभने म विवश थिएँ।’

पाकिस्तानमा पाँच हप्ता बिताएपछि नायला आफ्नो श्रीमानविना स्कटल्याण्ड फर्किइन्। उनका श्रीमान केही दिनपछि आउनेवाला थिए। तर केही महिनापछि नायलाले आफ्नो घर छोडेर आफ्नो साथीकोमा बस्न गइन्। उनले भनिन्–मैले आफ्नो समान प्याक गरेँ र भागेँ। एक वर्षसम्म घर भन्दा बाहिर बसेँ। मलाइ घरबाट, परिवारबाट र समुदायका मानिसले धेरै गाली गरे।’

नायलालाई आफ्नो भाइ, बैनीसँग कहिल्यैे नभेट्न भनियो। एक वर्षपछि उनी आफ्नो घर फर्किइन्। नायलाका अनुसार उनको परिवारले उनलाई स्वीकार गर्यो। तर उनको समुदाय यो व्यवहारबाट रिसाएको थियो।

त्यसपछि नायलाको सम्बन्ध विच्छेद भयो। र, उनी अध्ययन गर्न अबेरदीन विश्वविद्यालय गइन्। ‘त्यतिबेला देखि म एक स्वतन्त्र मुस्लिम महिला भएकी छु,’ उनले भनिन्।

कुनै पनि व्यक्तिको जबर्जस्ती विवाह गर्नु कानुनी रुपमा अपराध हो। जबर्जस्ती चाहे कानुनी रुपमा होस वा मानसिक रुपमा, वा आर्थिक रुपमा नै किन नहोस्।
बेलायत सरकारले केही समय अगाडि जारी गरेको एक तथ्यांक अनुसार गत वर्ष जर्बजस्ती विवाह गरेको १,७६४ घटना सार्वजनिक भएका छन्। स्कटल्यान्डमा २०१७ मा यस्ता १८ घटना सार्वजनिक भएका थिए।

नायला भन्छिन्–मलाइ लाग्दैन हामीले यसको कुनै पक्का उपाय खोजेका छौं। शिक्षा र जागरुकताले यसमा महत्वपूर्ण भूमिका निर्वाह त गर्छ नै। तर परिवारका सदस्यले के बुझ्नुपर्छ भने जबर्जस्ती विवाह गर्दा आफ्नो छोरीले कति दुख सहनुपर्छ।’