शनिबार, बैशाख ०८, २०८१

रिसव गौतमको पुस्तक ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ बजारमा

काठमाडौं । विभिन्न पत्रपत्रिकामा आर्थिक टिप्पणी र विश्लेषणसहितका लेख–रचना लेख्दै आएका र यसै क्षेत्रका केही पुस्तकहरू यसअघि नै प्रकाशन गरिसकेका रिसव गौतमले ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पछिल्लो पुस्तक बजारमा ल्याएका छन् ।

बिजनेसपाटी मिडिया प्रा.लि. ले बजारमा ल्याएको यस पुस्तकमा मूलतः ‘क’ वर्गका २८ वाणिज्य बैंकहरुको प्रोफाइल समेटिएको छ । पुस्तकमा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी र सहकारीहरुबारे पनि प्रकाश पारिएको छ ।

पुस्तकको एक खण्डमा लेखक गौतमले नेपालको वित्तीय क्षेत्रबारे विश्लेषणात्मक आलेखहरु समेटेका छन् । आम मानिसमा वित्तीय पहुँच र चेतना अभिवृद्धि होस्, बैक–वित्तीय क्षेत्रले प्रदान गर्दै आएका विभिन्न सेवा–सुविधा र उनीहरुको पृष्ठभूमि समेत पाठकले जान्न पाऊन् भन्ने उद्देश्यका साथ पुस्तक तयार पारिएको गौतमले बताए । बैंकहरुको समग्र प्रोफाइल समेटिएको यो पुस्तक नै नेपालको सन्दर्भमा पहिलो भएको दावी गौतमले गरेका छन् । ‘यो पुस्तकबाट नेपालका बैंक–वित्तीय क्षेत्रबारे समग्रतामा जानकारी हासिल गर्न सकिनेछ भन्नेमा म विश्वस्त छु’– गौतमले न्युजकोसेलीसँग भने ।

राजनीतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक विधामा वर्षेनि सयौंको संख्यामा पुस्तकहरु प्रकाशन हुने गरे तापनि आर्थिक क्षेत्रलाई विषयवस्तु बनाएर अत्यन्तै नगन्य पुस्तकहरू मात्र बजारमा आउने गरेका छन् । आर्थिक क्षेत्रमा थोरै भए पनि योगदान दिन सकियोस् भन्ने उद्धेश्यका साथ आफूले झन्डै चार सय पृष्ठको यो पुस्तक तयार पार्न मेहनत गरेको रिसवको भनाइ छ ।