बिहिबार, बैशाख ०६, २०८१

सोलुखुम्बु क्याम्पसको अर्ब जुटाउने अभियान

सोलुखुम्बुमा ५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन अभियान सुरु भएको छ।

प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले टुरिजम र माउन्टेनरिङ विषयमा निःशुल्क शिक्षा उपलब्ध गराउन लागेको हो। यसका लागि क्यापसले मेची–काली अभियान थालेको छ।

अभियानअन्तर्गत क्याम्पसले ७७ जिल्लाका ५ लाख व्यक्ति, ५ हजार सरकारी तथा गैरसरकारी संस्था र विश्वका २५ देशका नागरिकसँग सहयोग जुटाउँदै छ। यसलाई संसारकै धेरै नागरिकको सहभागितामा सञ्चालित पब्लिक क्याम्पस बनाइने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताए।

एक व्यक्तिसँग न्यूनतम १ सय रुपैयाँ सहयोग लिएर एक अर्बको अक्षयकोष बनाउने लक्ष्य क्याम्पसको छ। अभियान आगामी पाँच वर्ष चल्नेछ। कोषको ब्याजबाट ७७ जिल्लाका एक छात्र एक छात्रा गरी १ सय ५४ जनाका लागि बर्सेनि निःशुल्क प्राविधिक तथा व्यावसयिक शिक्षाको कोटासमेत उपलब्ध हुने बताइएको छ।

स्वेदशी र विदेशीलाई पर्यटन तथा पर्वतारोहणसम्बन्धी शिक्षा दिने नेपालकै पहिलो क्याम्पसका रूपमा स्थापित गर्न अभियान थालिएको सहायक क्याम्पस प्रमुख निरञ्जन कट्टेलले जानकारी दिए। अन्नपूर्ण पोष्टमा खबर छ ।