शनिबार, बैशाख ०८, २०८१

नेतृत्व गर्नेहरुमा एकले अर्कालाई हिलो छ्याप्ने प्रवृत्ति अन्त्य हुन जरुरी

निरन्जन गैरे ।
जब जब जापानमा एनआरएनको चुनाव नजिकिन्छ,तब जापानको नेपाली समाज तरंगित हुने गर्दछ । यहाँ रहेका नेपालीका समस्या,अवसर, संभावना,जापानसंग नेपाललाई जोड्ने बिषय जस्ता अहम मुद्दाहरुमा कहिं कतै बहस,चर्चा, छलफल र वौद्धिक मन्थन हुँदैनन् ।
हुन्छन त केवल नेतृत्वको होडबाजी,यो पद र त्यो पदमा दावेद्धारीका घोषणा एकले अर्कालाई हिलो छ्याप्ने प्रवृत्ति सतहमा तैरिन्छन् । यसले समग्र जापानमा बस्ने नेपालीहरुको प्रतिनिधिमुलक सोच, चिन्तन र वौद्धिकताको मापन गर्दछ । यसका बारेमा एनआरएनका जिम्मेवार तहमा बसेका शीर्षस्थहरुले के सोच्दा हुन् कहिलेकाँही घोत्लिन बाध्य बनाउँदछ । जापानमा सुरुदेखि एनआरएन अभियानलाई नजिकबाट बुझेका, एनआरएनलाई सहि दिशामा मार्ग निर्देशन दिन सक्ने हैसियत राख्ने बुद्धिजीवी वर्ग पनि छ, तर उनीहरु बिस्तारै अभियानबाट ओझेल पर्दै गईरहेका छन् । यसका मुल कारणहरु बारे अध्ययन हुनु जरुरी छ ।
एनआरएन जापान जापानमा बस्ने नेपालीहरुले गर्व गर्न लायक बनाउन सकिएको छैन । नेतृत्वमा रहेका कतिपयमा आफुबाहेक अरु सबैलाई होचा र पुड्का देख्ने प्रवृत्ति हावी हुँदै गईरहेको छ ।
उनीहरुको पृष्ठभूमि हेर्दा पनि न त एकेडेमिक हिसाबले न त योगदानका हिसाबले न त सक्षमताका हिसाबले सन्तोष मान्न सकिने देखिन्छ । यी सबै राम्रोसंग बुझेका यहाँका जानेमानेकाहरु चुइँक्क बोल्दैनन् । विगतमा झैं माथिको आशिरबादमा फेरि पनि उहि प्रवृत्तिले निरन्तरता पाउने संकेत देखिएका छन् । मुहान सफा नभएसम्म धारामा पानी सफा आउने कल्पना गर्न नसकिने विश्वब्यापी मान्यता जस्तै एनआरएनमा पनि मुहानबाटै सफा नगरेसम्म यस खालको प्रवृत्तिमा सुधार आउन सक्ने देखिदैन । प्रवृत्तिमा सुधार नभएसम्म एनआरएनको सदस्यता स्वतस्फुर्तरुपमा लिन जापानबासी नेपालीहरु तयार देखिदैनन् । मुढेबल लगाएर नेतृत्व चयन गरिने प्रवृत्तिले अभियानलाई उन्नत बनाउन सकिदैन ।
जापानको अर्को नाम अनुशासन पनि हो । अनुशासनभित्र शिष्टता, मर्यादा, नम्रता र शालिनता पनि पर्दछन् । यस्तो देशको एनआरएन कस्तो बन्दै गईरहेको छ, सबैले जानेबुझेकै कुरो हो । त्यसकारण पनि जापानको एनआरएनमा आमुल सुधारको खाँचो छ, त्यसका लागि सबैले अपनत्व महशुस गर्न सक्ने सन्तुलित र शालिन नेतृत्व आजको समयको माग हो । सही नेतृत्व र नीति अभावका कारण एनआरएन जापानप्रति आकर्षण र अपनत्व घट्दो छ ।

जसको ज्वलन्त उदाहरण विभिन्न क्षेत्रगत आधारमा एनआरएन जापानको सदस्यता लिनेहरुको संख्या घट्दो रहेकोलाई लिन सकिन्छ । तसर्थ हाम्रो, राम्रो र साझा नेतृत्वको पक्षमा अबको एनआरएन जानुपर्दछ । एनआरएनलाई साझा संस्थाकैरुपमा अर्थात संस्थागत मान्यताअनुसार स्थापित गराउन सक्ने सक्षम, सवल र सन्तुलित नेतृत्वलाई सहयोग गर्नु हरेक सचेत जापानबासी नेपालीको कर्त्तब्य हो ।

साझा संस्थामा कसैको ब्यक्तिगत रहर पुर्‍याउन दोहोर्‍याएर, तेहर्‍याएर नेतृत्वमा दावी गरिरहने गलत सँस्कारलाई नजिर बस्न दिईनु हुँदैन, यो एनआरएन अभियानको हितमा पनि हुन सक्तैन ।
लेखक : पाल्पाली समाज जापानको अध्यक्ष हुन ।