शुक्रबार, बैशाख ०७, २०८१

मन्थली मेयर बस्नेतको प्रतिवद्धता: तीन वर्षमा सवै वडासम्म पक्की सडक

कैलाश खत्री,मंथली ।
रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरी आर्थिक वर्ष २०७५÷२०७६ मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता वारेमा जानकारी दिएको छ । नगरपालिकाको १४ ओटै वडाका जनप्रतिनिधि,कर्मचारी,विषयगत शाखाका प्रमुखहरु र सर्वसाधारण सेवाग्राही नागरिकहरुको सहभागीता रहेको थियो ।
सेवाग्राही नागरिकहरुले उठाएको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख (मेयर) रमेश कुमार बस्नेतले दिनुभएको थियो । सार्वजनिक सुनुवाईमा सहभागी नागरिकहरुले विकास निर्माणका कामहरु प्रभावकारी हुनुपर्ने बताएका छन् । सडक÷यातायात,शिक्षा,खानेपानी,स्वास्थ्य,रोजगारी जस्ता आधारभुत विकासमा नगरपालिकाले योजना बनाएर काम गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् ।
त्यस्तै कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ नगरप्रमु्ख बस्नेतले ३ वर्षभित्र सवै वडाका वडा कार्यालयसम्म पक्की कालोपत्रे सडक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।अहिले सवै वडाका सडकमार्गहरु स्तरोन्नती गर्ने काम सकिएको छ अव बाँकी काम कालोपत्रै गर्ने नै हो । आफ्नो २ वर्षे कार्यकाल वितिसकेको र आँफुले बनाएका प्रारम्भिक योजनाहरु लागु हुँदै गैसकेको भन्दै अव बाँकी कार्यकालमा योजनाहरु पुरा भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो । “बजेट बढेर आएको छ,कर राम्रो उठेको छ,आन्तरिक स्रोत वृद्धि भएको छ,प्रदेश सरकार र केन्द्र सरकारले पनि मैले नेतृत्व गरेको मन्थली नगरपालिकालाई प्राथमिकतामा राखेको छ ” नगरप्रमुख बस्नेतले भन्नुभयो,“नागरिकले साथ दिनुपर्छ विकास नहुने कुरै छैन् ।

त्यस्तै नगरप्रमुख बस्नेतले विभागीय प्रमुखहरुलाई आँफुले प्रष्ट निर्देशन दिईसकेको भन्दै शिक्षा,स्वास्थ्य जस्ता क्षेत्रमा समस्या खडा गर्ने व्यक्तिलाई कारवाही गर्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षामा गुणस्तरीयता कायम गर्न योजनावद्ध ढंगले काम भैरहेको बताउनुभयो ।
नगरपालिकाले लिएको नीतिलाई सफल पार्न नागरिकको समेत दायित्व हुने बताउनुभयो ।
त्यस सार्वजनिक सुनुवाईमा अतिथि वक्ताको रुपमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम वहादुर खड्का र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले आफ्नो मन्तव्य राख्नु भएको थियो । सार्वजनिक सुनुवाईमा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी पाण्डे,मन्थली नगरपालिका उप–प्रमुख माया कुमारी कार्की,प्रमुख प्रशासकिय अधिकृत (उपसचिव) हेमन्त कुमार वुढाथोकी लागएतको सहभागीता रहेको थियो । सार्वजनिक सुुनुवाईको सहजिकरण सामाजिक जवाफदेहीता नेटवर्क नेपाल (सान) रामेछापका अध्यक्ष उमंग मैनालीले गर्नुभएको थियो ।