बिहिबार, बैशाख १३, २०८१

ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश

एजेन्सी । ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ब्राजिल ४-३ ले विजयी रहयो ।

पाराग्वेका लागि पहिलो पेनाल्टी लिएका गरेका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई राम्रो सुरुवात दिलाए । ब्राजिलका लागि विलियनले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पाराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहार गोल गर्दा मार्किन्होसले पनि गोल गर्दै ब्राजिलको अग्रता कायम राखे । त्यसपछि पाराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्होले पनि गोल गरे ।

पाराग्वेका लागि चौथो प्रहार गरेका रोड्रीगो रोजास सफल हुँदा ब्राजिलका रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएको थियो । टाइब्रेकर बराबरीमा आएपछि पाराग्वेका लागि पाँचौ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार बाहिरियो । त्यसपछि ग्याब्रीएल जेससले पेनाल्टीलाई गोलमा परिणत गर्दै ब्राजिलको जित पक्का गरे ।

त्यसअघि निर्धारित समयमा ब्राजिलले खेलको सुरुवाती समयमा पाराग्वेको गोलरक्षकलाई परिक्षण गरेपनि अग्रता लिन सकेन । २९ औं मिनेटमा पाराग्वेले गोल गर्ने अवसर प्राप्त गरेपनि गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । डेर्लिस गोन्जालेजको पासमा पेरेजले वन भर्सेस वनको स्थितिमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई एलिसनले बचाएका थिए ।

दोस्रो हाफको ६० औं मिनेटमा पाराग्वे १० खेलाडीमा सिमित भयो । फाबियन बालबुएनाले पेनाल्टी क्षेत्रको ठिक बाहिर रोबर्टो फिर्मिनोलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै निर्णय लिएका थिए । रेफ्रीले सुरुवातमा ब्राजिललाई पेनाल्टी दिने निर्णय गरेपनि भीएआरको सहायतापछि बालबुएनालाई रातो कार्ड दिँदै ब्राजिललाई फ्रिकिक दिएका थिए ।

पाराग्वे १० खेलाडीमा सिमित भएपछि ब्राजिलले आक्रमणमा खेलाडी थप्दै दबाब बढायो । ६९ औं मिनेटमा आर्थरको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन सकेन । ७४ औं मिनेटमा ग्याब्रिएल जेससले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टभन्दा थोरै दुरीबाट बाहिरियो । लगत्तै एभरटनको प्रहार डिफेन्डर इभान पिरिसलाई लाग्दै बाहिरियो ।

निर्धारित समयको तीन मिनेट बाँकी रहँदा पाराग्वेका गोलरक्षक फर्नान्डेजले उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा राखे । कोउटिन्होले दायाँ विङबाट फ्रिकिकमा दिएको पासमा एलेक्स स्यान्ड्रोको हेडरलाई उनले डाइभ दिंदै विफल परे । ९० औं मिनेटमा विलियनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टमा लागेर फर्कंदा ब्राजिलले खेलमा अग्रता लिन सकेन । थप गरिएको ७ मिनेट इन्ज्युरी समयमा ब्राजिलले पाएको दुई अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।

ब्राजिलले अब सेमिफाइनलमा अर्जेन्टिना र भेनेजुएलाको खेलको विजेतासँग खेल्नेछ ।