शुक्रबार, बैशाख ०७, २०८१

क्लिन फिडले नेपाली सञ्चार माध्यमहरुको दिगो विकासमा महत्वपूर्ण सहयोग : पत्रकार महासंघ

काठमाडौं । संसदमा विचाराधिन विज्ञापन विधेयकमा क्लिन फिडको व्यवस्था गरेको विषयलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ ।

सरकारको आमसञ्चार नीति र पत्रकार महासंघले विभिन्न चरणमा अघि सारेको मागपत्र तथा पारित दस्तावेजहरुमा क्लिन फिड व्यवस्था लागु गर्ने विषय उच्च प्राथामिकतामा रहँदै आएको उसले स्मरण गराएको छ । महासंघले आज विज्ञप्ति निकालेर भनेको छ– क्लिन फिडले नेपाली सञ्चार माध्यमहरुको दिगो विकासमा महत्वपूर्ण सहयोग पुग्छ भन्ने महासंघको विश्वास छ । विज्ञापन विधेयकमा क्लिन फिड व्यवस्थागरि लागु गर्ने दृढता प्रर्दशन गरेकोमा महासंघ सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हुँदा उक्त विधेयक फिर्ता लिई सरोकारवालाहरुसँग छलफल गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री विधेयक ल्याउन सरकारलाई पुनः आग्रह गरेको छ । यसका लागि महासंघको आन्दोलन पनि जारी छ ।