बिहिबार, बैशाख ०६, २०८१

नेपाल एअरलाइन्सको काठमाडौं-ओसाका उडानको टिकट पुन:बुकिङ खुल्ला

जापान । नेपाल वायुसेवा निगम(एनएसी)ले असार १९ गते जापानको ओसाका उडान भर्ने तालिका सार्वजनिक गरेपनि टिकट बुकिङ नभएपछि स्थगीत गरेको थियो । तर, बुधबार एनएसीले पुन टिकट बुकिङ खुल्ला गरेर भदौं १२ गते ओसाका उडान गर्ने जनाएको छ ।

जापानको ‘जापान सिभिल एभिएसन ब्युरो’ जेक्यावले नेपाल वायु सेवा निगमलाई जापान उडान भर्न सहमति दिएसँगै निगमले भाडादर तयर गर्दै टिकट बुकिङ खुला गरेको थियो । तर, उक्त उडानका लागि टिकट बुकिङका नभएपछि नगिमले उडान रद्द गर्ने निर्णय गर्यो ।

पछिल्लो समय जापान उडान नगरेको सम्बन्धमा विभिन्न सरोकारवाला निकायबाट दबाब आएपछि निगमले पुनः टिकट बुकिङ खुला गरेको हो । निगमले नयाँ टिकट बुकिङ खुला गरेसँगै भदौं १२ गते काठमाडौं–ओसाका उडान भर्ने एनएसीका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

निगमले आगामी दिनमा पनि पुरानै तालिका अनुसार जापानको लागि उडान भर्ने उनको भनाई छ ।

नेपालबाट जहाज २:४० बजे उड्ने छ भने ओसाकाबाट जापानको समयअनुसार दिउँसो १:५५ मा उडान भर्नेछ । हाल छोटो दुरीको उडान गर्दै आईरहेको निगमको वाईडबडी जहाज एक बर्षपछि जापानमा उडान गर्ने भएको छ ।

निगमका अनुसार वाइडबडीले साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार ओसाका उडान भर्नेछ । निगमले जापानकै नारिता विमानस्थलमा समेत आफ्नो उडान भर्न अनुमति माग गरेको छ ।